नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भइरहेको मतगणना तीव्र गतिमा अघि बढेको निर्वाचन समितिले जनाएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा विभिन्न पदको मतगणना एकैसाथ भइरहेको छ।
बडादशैँलाई ध्यानमा राख्दै मतगणना छिटो सम्पन्न गर्न औसतमा २५ वटा समूह परिचालन गरिएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिएका छन्। उनका अनुसार दुई क्लस्टरको मतगणना सकिएको छ भने चार क्लस्टरको गणना जारी छ। बाँकी छ क्लस्टरको गणना सुरु गर्ने तयारी भइरहेको छ।
निर्वाचन समितिका अनुसार जनसम्पर्क समितितर्फ दुई महिला र पाँच खुला गरी सात जना केन्द्रीय सदस्यको मतगणना सम्पन्न भएको छ। पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्री र केन्द्रीय सदस्य पदको गणना पनि सकिएको छ।
हाल खुला सहमहामन्त्री, महिला सहमहामन्त्री, महिला केन्द्रीय सदस्य, आदिवासी जनजातितर्फका पद तथा सुदूरपश्चिम प्रदेशका खुला, महिला र ३५ वर्षमुनिका केन्द्रीय सदस्य पदको मतगणना भइरहेको छ।
त्यस्तै, धेरैको चासो रहेको खुलातर्फका ४५ केन्द्रीय सदस्यसहित दलित, मधेसी, खस–आर्य, अल्पसंख्यक, अपाङ्गता तथा पेशागत समूहका विभिन्न पदको मतगणना सुरु गर्ने तयारी भइरहेको कांग्रेसको मिडिया सेन्टरले जनाएको छ।
निर्वाचन समितिले बुधबारसम्म सबै पदको अन्तिम नतिजा सार्वजनिक गर्ने लक्ष्यसहित गणना अघि बढाएको छ। मतगणना स्थलमा नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उपस्थिति रहेको र गणना व्यवस्थित रूपमा भइरहेको समितिले जनाएको छ।






