उनले नागरिकलाई सीधा प्रश्न गर्दै सोधे- “तपाईं राष्ट्र जोगिनुपर्छ भन्ने पक्षमा हुनुहुन्छ कि राष्ट्रको भविष्य जे भए पनि फरक पर्दैन भन्ने पक्षमा?” अहिलेको घडीमा आफू कुन पक्षमा उभिने भन्ने निर्णय नगरे भविष्यमा आत्मग्लानी हुने चेतावनी पनि उनले दिए।
ओलीले इतिहासले धिक्कार्नेभन्दा पनि अन्तिम घडीमा आफ्नै अन्तरात्माले सोध्ने प्रश्नबाट बच्न नसकिने उल्लेख गर्दै नागरिकलाई ‘देश पहिले’ भन्ने अडान लिन आग्रह गरे।
निर्वाचित सरकारलाई अपदस्थ गर्न खोजिएको आरोप लगाउँदै उनले देश जोगाउने कि नजोगाउने भन्ने गम्भीर प्रश्नको जवाफ दिनुपर्ने बेला आएको बताए।
आफूमाथि विभिन्न आरोप र भ्रम फैलाइएको स्वीकार्दै केही कमजोरी हुनसक्ने उनले बताए, तर राष्ट्रियता, अखण्डता र स्वाभिमानको सवालमा कहिल्यै सम्झौता नगरेको दाबी गरे।
उनले संविधान, कानून, सार्वजनिक सम्पत्ति, सिंहदरबारदेखि सुरक्षा निकायसम्म नागरिककै कर र भरोसाले बनेको भन्दै यस्ता संरचनाको रक्षा नै ‘देश पहिले’को भावना भएको स्पष्ट पारे।
राष्ट्रिय स्वाधीनता, सीमा र पहिचानप्रति गर्व गर्नुपर्ने भन्दै ओलीले अन्त्यमा दोहोर्याए - “अब देश पहिले भन्ने भावना व्यवहारमा उतार्ने समय आएको छ।”





