काठमाडौं — पछिल्लो चार दिनदेखि भइरहेको वर्षा आजदेखि क्रमशः कमजोर हुँदै जाने मौसमविद् विनोद पोखरेलले बताएका छन्।
उनका अनुसार आइतबार दिउँसोसम्म केही स्थानमा वर्षा हुनसक्छ। तर भारी वर्षाको सम्भावना भने लगभग टरेको छ।
पोखरेलका अनुसार पछिल्लो चार दिनमा नवलपरासीको बर्दघाट क्षेत्रमा ३०० मिलिमिटरभन्दा बढी वर्षा भएको छ। पछिल्लो २४ घण्टा र सात दिनको वर्षाको विवरणले पनि पछिल्लो समय वर्षा उल्लेख्य भएको देखाएको उनले बताए।
भारी वर्षाको पूर्वसूचना समयमै जारी हुनुका साथै सम्बन्धित निकायबीचको सक्रियता र समन्वयका कारण ठूलो जनधनको क्षति हुनबाट जोगिएको पोखरेलको भनाइ छ।
आगामी दिनमा पनि मौसमको अवस्था हेरेर सतर्कता अपनाउन र सुरक्षित रहन उनले आग्रह गरेका छन्।





