मौसमविद् विनोद पोखरेलले आगामी आइतबारदेखि करिब चार–पाँच दिनसम्म हल्का वर्षाको सम्भावना रहे पनि गएको हप्ताजस्तो ठूलो वर्षा नहुने बताएका छन्।
उनका अनुसार वर्षा देशभर एकैपटक वा हरेक दिन सबै क्षेत्रमा हुने छैन। पूर्वी नेपालदेखि काठमाडौंसम्म वर्षाको सम्भावना तुलनात्मक रूपमा बढी रहे पनि पश्चिमी क्षेत्रमा वर्षाको सम्भावना कम देखिएको छ।
पोखरेलले किसानले वर्षाकै कारण धान काट्ने काम रोक्नुपर्ने अवस्था नरहेको स्पष्ट पारेका छन्। कुन दिन मौसम तुलनात्मक रूपमा अनुकूल हुन सक्छ भन्ने जानकारी दिन पूर्वानुमान सार्वजनिक गरिएको उनको भनाइ छ।
उनका अनुसार उक्त पूर्वानुमान चारवटा मौसम मोडेलको औसतमा आधारित छ दिनको दैनिक वर्षा पूर्वानुमान हो। नक्सामा तीन मिलिमिटरभन्दा कम वर्षा देखिएका क्षेत्रमा खासै पानी नपर्न सक्ने तथा चार मिलिमिटर वा सोभन्दा बढी देखिएमा वर्षाको सम्भावना रहेको बुझ्न सकिने उनले बताएका छन्।
पोखरेलले आफ्नो जिल्ला र दिनअनुसार मौसमको नक्सा हेरेर वर्षाको सम्भावना बुझ्न आग्रह गरेका छन्।





