सरकारले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि चालु आर्थिक वर्षमा ६ अर्ब ५४ करोड रुपैयाँ खर्च गर्ने भएको छ। विद्यालयमा आधुनिक भवन निर्माण तथा आवश्यक पूर्वाधार विस्तारका लागि उक्त बजेट छुट्याइएको हो।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको सचिवालयका अनुसार पहिलो चरणमा ८९ विद्यालयका लागि ५ अर्ब ३४ करोड रुपैयाँ निकासा भइसकेको छ। उक्त रकमबाट प्रत्येक विद्यालयमा १२ कोठे तीनतले भवन निर्माण गरिनेछ।
प्रतिविद्यालय करिब ६ करोड रुपैयाँ लागत अनुमान गरिएको भवनमा कक्षाकोठा, प्रयोगशाला र पुस्तकालयको व्यवस्था गरिने मन्त्रालयले जनाएको छ।
मन्त्री पोखरेलले विद्यार्थीको चाप बढी भएका सामुदायिक विद्यालयको पूर्वाधार सुधारलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन्। उनका अनुसार केही सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या बढिरहेको छ भने केही विद्यालय विद्यार्थी अभावको समस्याबाट गुज्रिरहेका छन्।
विद्यालयहरूबीचको असमानता कम गर्ने उद्देश्यले विद्यार्थीको चाप भएका विद्यालयबाट पूर्वाधार सुधारको काम सुरु गरिएको मन्त्री पोखरेलको भनाइ छ। आगामी दिनमा सबै सामुदायिक विद्यालयको भौतिक पूर्वाधार र शैक्षिक गुणस्तर सुधार गर्दै विद्यालयहरूबीचको असमानता अन्त्य गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि पूर्वाधार विकाससँगै शिक्षक, अभिभावक र विद्यार्थीबीचको सहकार्य आवश्यक रहेको मन्त्री पोखरेलले बताएका छन्।






