Thursday, January 15, 2026

विशेष महाधिवेशनले कांग्रेस फुट्दैन : सभापति देउवा


२८ पुस, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशन पक्षले पार्टी फुटाउने प्रयास गरिरहेको आरोप लगाएका छन् । तर, पार्टी नफुट्नेमा आफू पूर्ण रूपमा विश्वस्त रहेको उनले बताएका छन् ।

आज बिहान आफूसँग भेट गर्न आएका पार्टीका नेता–कार्यकर्तासँग देउवाले विशेष महाधिवेशनलाई लक्षित गर्दै भने, ‘पार्टी फोड्ने प्रयास गरेका छन्, तर कांग्रेस फुट्दैन । म यसमा विश्वस्त छु ।’

देउवाले विशेष महाधिवेशन पक्षले बन्दसत्रबाट लिने निर्णयका आधारमा आफूले आवश्यक निर्णय लिने स्पष्ट पारे । उनले संस्थापन पक्षकै केही नेताहरूले आज बिहान भेटेर हालको राजनीतिक अवस्थाबारे छलफल गरेको जानकारी पनि दिए ।

सभापति देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा सुरु भएको विशेष महाधिवेशनलाई वैधानिक नभएको दाबी गरेका छन् । उनका अनुसार पार्टी विधानविपरीत आयोजना गरिएको महाधिवेशनले वैधानिकता पाउन सक्दैन ।

यता, विशेष महाधिवेशन पक्षले भने आजबाट बन्दसत्रका कार्यक्रम सुरु हुँदैछ र महाधिवेशनमा बहुमत प्रतिनिधिको सहभागिता रहेको दाबी गरेको छ । कांग्रेसभित्रको आन्तरिक विवाद थप चर्किँदै जाँदा विशेष महाधिवेशनले पार्टी राजनीतिमा नयाँ मोड ल्याउने संकेत देखिएको छ ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like