Wednesday, August 26, 2026

३५ वर्षपछि बङ्गलादेशमा प्रतिस्पर्धात्मक राष्ट्रपतीय निर्वाचन


ढाका । बङ्गलादेशमा ३५ वर्षपछि पहिलोपटक प्रतिस्पर्धात्मक राष्ट्रपतीय निर्वाचन हुन लागेको छ । देशको २३औँ राष्ट्रपति चयनका लागि बिहीबार संसद्का सदस्यहरूले मतदान गर्नेछन् ।

निर्वाचनमा सत्तारुढ बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी)का उम्मेदवार मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार अवकाशप्राप्त कर्नेल ओली अहमदबीच प्रतिस्पर्धा हुँदै छ ।

संसद्का ३४९ सांसदले मतदान गर्नेछन् । बीएनपीसँग स्पष्ट बहुमत रहेकाले मिर्जा फखरुल राष्ट्रपतिमा निर्वाचित हुने सम्भावना बलियो रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

बङ्गलादेशमा पछिल्लोपटक सन् १९९१ मा राष्ट्रपतिको निर्वाचनमा एकभन्दा बढी उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो । त्यसयता भएका सबै राष्ट्रपतीय निर्वाचन निर्विरोध भएका थिए ।

यसपटकको निर्वाचनलाई परिणामभन्दा पनि ३५ वर्षपछि राष्ट्रपतीय चुनावमा पुनः प्रतिस्पर्धा हुनुलाई विशेष महत्वका साथ हेरिएको छ । विश्लेषकहरूका अनुसार यो निर्वाचन बङ्गलादेशको संसदीय लोकतन्त्र र राजनीतिक प्रतिस्पर्धाको अवस्थाको महत्वपूर्ण संकेतका रूपमा रहनेछ ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like