Wednesday, August 26, 2026

भूपू गोर्खा सैनिकको सुविधामा कमी हुन नदिने भारतीय सेनाध्यक्ष सेठको प्रतिबद्धता


भूपू गोर्खा सैनिकको सुविधामा कमी हुन नदिने भारतीय सेनाध्यक्ष सेठको प्रतिबद्धता


३ भदौ, पोखरा । भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठले नेपालमा रहेका भूतपूर्व भारतीय सैनिक तथा उनीहरूका परिवारको स्वास्थ्य, कल्याण र सुविधाका लागि भारतीय सेनाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

पोखरामा बुधबार आयोजित पेन्सन क्याम्पमा भूतपूर्व सैनिक तथा उनीहरूका परिवारलाई सम्बोधन गर्दै सेठले गोर्खा सैनिक भारत–नेपाल सम्बन्धका महत्वपूर्ण प्रतिनिधि भएको बताए । उनीहरूको योगदानप्रति सम्मान व्यक्त गर्दै उनले भूतपूर्व सैनिकको हितलाई भारतीय सेनाले प्राथमिकतामा राखेको उल्लेख गरे ।

पोखरास्थित ईसीएचएस पोलिक्लिनिकलाई थप आधुनिक बनाउन आवश्यक स्वास्थ्य उपकरण उपलब्ध गराउने पहल भइरहेको उनले जानकारी दिए । साथै, भूतपूर्व सैनिकले माग गर्दै आएको सुनौली–गोरखपुर बस सेवाका विषयमा पनि गम्भीरतापूर्वक विचार भइरहेको बताए ।

नेपालमा सन् २०१४ देखि सञ्चालनमा रहेको ईसीएचएसमार्फत भूतपूर्व सैनिक तथा उनीहरूका परिवारले नेपाल र भारतका विभिन्न अस्पतालमा उपचार सेवा लिँदै आएका छन् । पश्चिम नेपालका भूतपूर्व सैनिकलाई लक्षित गर्दै कोहलपुरमा नयाँ ईसीएचएस पोलिक्लिनिकसमेत सञ्चालनमा ल्याइएको उनले बताए ।

भूतपूर्व सैनिकका परिवारलाई लक्षित गरी विभिन्न जिल्लामा कम्प्युटर, ब्युटिसियन तथा फेसन डिजाइनिङलगायतका सीपमूलक तालिम सञ्चालन भइरहेको जानकारी दिँदै सेठले आगामी दिनमा पनि उनीहरूको कल्याण र सुविधाका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता दोहोर्‍याए ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like