Thursday, September 4, 2025

विपिन जोशीको रिहाइको माग गर्दै आमा र बहिनी इजरायल पुगिन्, संयुक्त राष्ट्रसंघसम्म लैजाने तयारी


२७ साउन, काठमाडौं ।
प्यालेस्टिनी लडाकु समूह हमासद्वारा इजरायलमा बन्धक बनाइएका कञ्चनपुरका विपिन जोशीको रिहाइको माग गर्दै उनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी इजरायल पुगेका छन्। इजरायली सरकारको पहलमा अन्तर्राष्ट्रिय दबाब सिर्जना गर्ने उद्देश्यले उनीहरू सोमबार इजरायल प्रस्थान गरेका हुन्।

तेलअविवस्थित बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा इजरायली विदेश मन्त्रालयका अधिकारी, इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित, नेपालका पूर्वराजदूत हानन गोदार लगायतले जोशी परिवारलाई स्वागत गरेका थिए।

इजरायली मिडिया र अन्तर्राष्ट्रिय पत्रकारहरूसँग कुराकानी गर्दै आमाले विपिनको रिहाइको लागि सबैसँग सहयोगको अपिल गरिन्। भावुक हुँदै उनले भनिन्, “म मेरो छोरो विपिनलाई लिन आएकी हुँ, कृपया उहाँलाई मुक्त गराएर घर फर्काइदिनुस्।”

त्यस्तै, विपिनकी बहिनी पुष्पाले पनि आँशु झार्दै दाजु शैक्षिक उद्देश्यले इजरायल आएको स्मरण गर्दै कसैसँग बैर नरहेको बताइन्। “हामी उहाँलाई लिन नेपालबाट यहाँ आएका हौं,” उनले भनिन्।

भीमदत्त नगरपालिका–३ भासी निवासी २९ वर्षीय विपिन जोशी इजरायलको ‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत कृषि अध्ययनका लागि गएका थिए। गत वर्ष अक्टोबर ७ मा हमासले इजरायलको किबुज क्षेत्रमा गरेको हमलापछि उनी सम्पर्कविहीन छन्। सो हमलामा १० जना नेपालीको ज्यान गएको थियो भने २५१ जनालाई बन्धक बनाइएको थियो।

युद्धविरामको क्रममा केही बन्धकहरू मुक्त भए पनि विपिनको अवस्था अझै अज्ञात छ। नेपाल सरकारले उनको रिहाइका लागि कूटनीतिक पहल जारी राखेको छ।

इजरायली अधिकारीका अनुसार पद्मा र पुष्पालाई संयुक्त राष्ट्रसंघको कार्यालयमा लैजाने र विपिनको रिहाइका लागि अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्ने तयारी छ। उनीहरूलाई प्रधानमन्त्री, रक्षामन्त्री, सेना प्रमुख र हमासविरुद्धको कारबाहीमा संलग्न कमान्डरहरूसँग समेत भेट गराइने जनाइएको छ। साथै, हमासद्वारा आक्रमण भएको किबुज क्षेत्रमा लगेर घटनाबारे प्रत्यक्ष जानकारी दिने योजना पनि रहेको छ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like