- by समाचार कक्ष
- Mar 06, 2025
२ भदौ, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले इजरायलमा हमास समूहद्वारा बन्धक बनाइएका नेपाली नागरिक विपिन जोशीको सुरक्षित र शीघ्र रिहाइका लागि सरकारले सबै सम्भव प्रयास जारी राखेको बताएका छन्।
सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै प्रधानमन्त्री ओलीले जोशीको सुरक्षालाई सरकारको उच्च प्राथमिकतामा राखिएको बताएका हुन्। उनले विपिनको रिहाइ सुनिश्चित गर्न खाडी क्षेत्रका नेपाली दूतावासमार्फत निरन्तर कूटनीतिक पहल भइरहेको उल्लेख गरे।
प्रधानमन्त्रीले लेखेका छन्, “सरकार विपिनको सुरक्षालाई प्राथमिकता दिँदै सबै सम्भव पहलमा जुटिरहेको छ। उनको शीघ्र र सुरक्षित रिहाइका लागि परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित पक्षहरूसँग निरन्तर संवाद भइरहेको छ।”
उनले विपिन जोशीको परिवारप्रति ऐक्यवद्धता जनाउँदै सरकार सधैं उनीहरूसँग रहेको स्पष्ट पारे। साथै, इजरायलस्थित नेपाली दूतावासको समन्वयमा विपिनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशीले इजरायलका राष्ट्रपति आइज्याक हर्जोग र संसद् अध्यक्ष अमिर ओहानासँग भेट गरी रिहाइको पहल गर्न अनुरोध गरिसकेको जानकारी पनि दिए।
प्रधानमन्त्री ओलीले यसअघि टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग चैत ७ गते र इजिप्टका राष्ट्रपति अब्देल फत्ताह अल-सीसीसँग फागुन २८ गते टेलिफोन संवाद गरी विपिनको रिहाइको लागि सहयोग अनुरोध गरिसकेको स्मरण गराएका छन्।
साथै, विपिनको रिहाइका लागि इजरायलमा सक्रिय नेपाली, स्थानीय नागरिक, पत्रकार, सुरक्षाकर्मी र सामाजिक अभियन्ताहरूले देखाएको सक्रियताप्रति प्रधानमन्त्रीले आभार प्रकट गरेका छन्।