Monday, March 2, 2026

तेहरानमा भीषण आक्रमणपछि सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको निधन पुष्टि, इरानमा ४० दिन शोक घोषणा


काठमाडौं। इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको निधन भएको इरानको सरकारी सञ्चारमाध्यमले पुष्टि गरेको छ। ८६ वर्षीय खामेनीको मृत्यु शनिबार बिहान सबेरै तेहरानस्थित उनको कार्यालयमा भएको जनाइएको छ। सरकारले ४० दिन राष्ट्रिय शोक तथा सात दिन सार्वजनिक बिदा घोषणा गरेको छ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत खामेनी मारिएको दाबी गरेका थिए। त्यतिबेला इरानबाट औपचारिक पुष्टि नभए पनि शनिबार राज्य टेलिभिजनका प्रस्तोताले भावुक हुँदै उनको निधनको घोषणा गरेका हुन्।

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को वक्तव्य उद्धृत गर्दै सरकारी टेलिभिजनले खामेनी “आफ्नो जिम्मेवारी निर्वाह गरिरहेकै अवस्थामा” कार्यालयमै मारिएको जनाएको छ। इरानसम्बद्ध फार्स र तस्निम समाचार एजेन्सीले पनि उनको मृत्यु पुष्टि गरेका छन्। तस्निमले खामेनी लुकेका थिए भन्ने हल्लालाई “दुश्मनको मनोवैज्ञानिक युद्ध” भन्दै अस्वीकार गरेको छ।

यस घटनाअघि अमेरिका र इजरायलले इरानमाथि व्यापक आक्रमण गरेका थिए। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु ले तेहरानस्थित ‘लिडरशिप हाउस कम्पाउन्ड’ मा शक्तिशाली आक्रमण भएको र खामेनी जीवित नरहेको संकेत देखिएको बताएका थिए।

बीबीसीको ‘बीबीसी भेरिफाइ’ टोलीले सार्वजनिक गरेको उपग्रह तस्बिर विश्लेषणअनुसार तेहरानस्थित नेतृत्व परिसरका धेरै संरचनामा गम्भीर क्षति पुगेको देखिएको छ।

आक्रमणको जवाफस्वरूप इरानले इजरायलसहित चार खाडी राष्ट्र—बहराइन, कुवेत, कतार र संयुक्त अरब इमिरेट्स—तर्फ क्षेप्यास्त्र र ड्रोन प्रहार गरेको जनाएको छ, जहाँ अमेरिकी सैन्य अड्डा रहेका छन्। यसले मध्यपूर्व क्षेत्रमा तनाव झनै चुलिएको छ।

को हुन् आयतोल्लाह अली खामेनी?

सन् १९८९ देखि इरानको सर्वोच्च नेताका रूपमा रहँदै आएका खामेनी इस्लामिक गणतन्त्र इरानका संस्थापक रुहोल्लाह खोमेनी का उत्तराधिकारी हुन्। सन् १९७९ को इस्लामिक क्रान्तिपछि स्थापना भएको व्यवस्थामा सर्वोच्च नेतासँग सरकार, सेना, न्यायपालिका तथा प्रमुख नीतिगत निर्णयहरूमा अन्तिम अधिकार रहने संवैधानिक व्यवस्था छ।

खामेनीले आफ्नो कार्यकालभरि अमेरिका र इजरायललाई इरानका प्रमुख शत्रुका रूपमा चित्रित गर्दै आएका थिए। उनले इरानको आणविक कार्यक्रम विशुद्ध नागरिक प्रयोजनका लागि मात्र भएको दाबी गर्दै आएका थिए। तर अमेरिका र इजरायलले भने इरानमाथि निरन्तर दबाब दिँदै आएका थिए।

हालैका महिनाहरूमा इजरायली नेताहरूले खामेनीविरुद्ध कडा अभिव्यक्ति दिएका थिए। केही इजरायली अधिकारीहरूले उनलाई ‘आधुनिक हिटलर’को संज्ञा दिएका थिए भने नेतन्याहुले समेत उनलाई लक्षित कारबाही अस्वीकार नगरेको संकेत गरेका थिए।

खामेनीको निधनसँगै इरानको राजनीतिक भविष्य, क्षेत्रीय शक्ति सन्तुलन र मध्यपूर्वको सुरक्षा अवस्थाबारे नयाँ प्रश्नहरू उब्जिएका छन्। अब उत्तराधिकारी चयन प्रक्रिया कसरी अघि बढ्छ भन्ने विषय विश्व समुदायको चासोको केन्द्रमा परेको छ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like