Wednesday, August 26, 2026

शताब्दीको संघारमा चन्द्र नहर, विश्व सिँचाइ सम्पदामा सूचीकृत गर्ने तयारी



सप्तरी । सप्तरीको सप्तकोसी नगरपालिका–१ फत्तेपुरस्थित ऐतिहासिक चन्द्र नहर निर्माण भएको करिब एक शताब्दी पुग्न लागेको छ। वि.सं. १९७९ मा निर्माण सुरु भई १९८४ मा सम्पन्न भएको यो नहरले आगामी वर्ष शतवार्षिकी मनाउनेछ।

नेपालको सिँचाइ इतिहाससँग प्रत्यक्ष जोडिएको चन्द्र नहरलाई संरक्षण गर्दै अन्तर्राष्ट्रिय पहिचान दिलाउने तयारीसमेत अघि बढाइएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले नहरलाई अन्तर्राष्ट्रिय सिँचाइ तथा जलनिकास आयोग (ICID) को ‘विश्व सम्पदा सिँचाइ संरचना’ सूचीमा समावेश गर्न सिफारिस गर्ने प्रक्रिया अघि बढाइएको बताएका छन्।

मन्त्री श्रेष्ठले चन्द्र नहरको उद्गमस्थल फत्तेपुर पुगेर यसको संरक्षण र आवश्यक आधुनिकीकरणमा जोड दिएका छन्। उनका अनुसार ऐतिहासिक महत्व बोकेको नहरलाई सुरक्षित राख्दै समयअनुकूल सुधार गर्दै लैजान आवश्यक छ।

चन्द्र नहरबाट हाल वर्षायाममा करिब १० हजार ५ सय हेक्टर र हिउँदमा ६ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्दै आएको छ। मुख्य नहर २९ किलोमिटर लामो रहेको छ भने यसको बहाव क्षमता १४.१५ घनमिटर प्रतिसेकेन्ड रहेको कार्यालयले जनाएको छ।

नहरले लामो समयदेखि सप्तरीको कृषि उत्पादन र किसानको जीविकोपार्जनमा महत्वपूर्ण योगदान दिँदै आएको छ। विश्व सिँचाइ सम्पदाको सूचीमा समावेश गराउने पहल सफल भएमा चन्द्र नहरसँगै नेपालको सिँचाइ इतिहास र सप्तरीको कृषि सम्पदाले अन्तर्राष्ट्रिय पहिचान पाउने अपेक्षा गरिएको छ।


Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like