Wednesday, August 26, 2026

पोखराको १४ करोडको पानी ट्याङ्की विवादमा, ३४ हजार नागरिक प्रभावित हुने जोखिम



पोखरा । पोखरा खानेपानी सुधार आयोजनाअन्तर्गत पोखरा–१५ कोलपाटनमा निर्माण भइरहेको खानेपानीको ओभरहेड ट्याङ्की विमानस्थलको उडान सुरक्षाका कारण विवादमा परेको छ ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को सहयोगमा करिब ५ अर्ब रुपैयाँ लागतमा सञ्चालन भएको आयोजनाअन्तर्गत निर्माण गरिएको ३१.८ मिटर अग्लो ट्याङ्कीमध्ये २० मिटरको संरचना तयार भइसकेको छ । करिब १४ करोड रुपैयाँ खर्च भइसकेपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएलगत्तै यसको निर्माण रोकिएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले ट्याङ्की विमानस्थलको धावनमार्गबाट करिब ८ सय मिटर मात्रै टाढा रहेको भन्दै उचाइ घटाउनुपर्ने जनाएको छ । प्राविधिक अध्ययनअनुसार ट्याङ्कीको उचाइ १५.५७ मिटरभन्दा बढी हुन नहुने भन्दै हालको संरचनाबाट ४.४३ मिटर घटाउनुपर्ने बताइएको छ ।

तर, नेपाल खानेपानी संस्थानले उचाइ घटाउँदा ट्याङ्की प्राविधिक रूपमा प्रयोग गर्न नसकिने र यसबाट पोखरा महानगरपालिकाका वडा नम्बर १०, १४, १५ र १७ का ३४ हजारभन्दा बढी नागरिकलाई लक्षित खानेपानी वितरण प्रणाली प्रभावित हुने जनाएको छ ।

ट्याङ्कीको उचाइ घटाउन करिब ६४ करोड रुपैयाँसम्म खर्च लाग्न सक्ने प्राविधिक अनुमान छ । यसबीच २० मिटरको संरचनालाई वितरण ट्याङ्कीका रूपमा प्रयोग गर्ने र आवश्यक क्षमताका लागि भूमिगत वा वैकल्पिक संरचना बनाउने विकल्पबारे पनि छलफल भइरहेको छ ।

ट्याङ्की विवादका कारण पोखरामा जाइकाको करिब ११ अर्ब रुपैयाँ बराबरको अर्को ढल तथा फोहोर पानी प्रशोधन आयोजना समेत अनिश्चित बनेको महानगरपालिकाले जनाएको छ । विवाद समाधानका लागि सम्बन्धित निकायबीच छलफल जारी रहे पनि अन्तिम निर्णय भने संघीय सरकारबाट हुनुपर्ने देखिएको छ ।



Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like