Saturday, September 6, 2025

शिक्षा पनि समाजवादउन्मुख हुनुपर्छ: सांसद महिन्द्र राय यादव


५ भदौ, काठमाडौं — नेकपा माओवादी केन्द्रका सांसद महिन्द्र राय यादवले देशको संविधान जस्तै शिक्षा प्रणाली पनि समाजवादउन्मुख बनाइनु पर्नेमा जोड दिएका छन्।

बिहीबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै सांसद यादवले वर्तमान शिक्षानीति पूँजीवादी र निजीकरणतर्फ गइरहेको टिप्पणी गरे। उनले भने, “देश र संविधान समाजवादउन्मुख हुनुपर्छ, शिक्षा पनि त्यही दिशातर्फ लाग्नुपर्छ।”

सांसद यादवले विशेष गरी गरिब, जेहेन्दार र अति पछाडिएका वर्गहरूका लागि व्यवस्था गरिएको पूर्ण छात्रवृत्ति प्रणालीलाई गैरनाफामूलक रूपमा निरन्तरता दिनुपर्नेमा जोड दिए।

उनले चेतावनी दिँदै भने, “शिक्षामा गुठीकरणको खतरा बढिरहेको छ, यसलाई यथावत् राख्नु आवश्यक छ।”

शिक्षासम्बन्धी कानुन निर्माण गर्दा पुरानो सोचबाट बाहिर ननिस्किए समाजमा असमानता झनै बढ्ने उनले बताए। “समतामूलक समाज बनाउने कानून बनाउँदा यदि पुरानै मानसिकताले बनाइयो भने सन्तुलन कायम हुँदैन,” सांसद यादवले बताए।

उनले शिक्षालाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने आवश्यकतामाथि पनि जोड दिए।

“शिक्षामा अनावश्यक राजनीति प्रवेश गरेको छ, यसलाई अलग राख्नुपर्छ,” उनले भने।

त्यस्तै, भूगोलको आधारमा मात्र नभइ मानव विकास सूचकांकमा पछाडि परेका क्षेत्रहरूलाई पनि प्राथमिकता दिनुपर्ने उनको सुझाव थियो।

शिक्षाको गुणस्तर सुधारका लागि अगाडि सारिएका विधेयकहरूलाई पुनः परीक्षण गर्दै अगाडि बढाइनुपर्ने बताउँदै उनले प्रदेश स्तरमा शिक्षा परीक्षा सञ्चालनको व्यवस्था हुँदाहुँदै बोर्ड गठनमा केन्द्र सरकारको नियन्त्रण किन? भन्ने प्रश्न उठाए।

सांसद यादवको भनाइले शिक्षा प्रणालीमा देखिएको निजीकरण र राजनीतिक प्रभावका विषयमा गम्भीर बहस पुनः सुरु गरेको छ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like