Wednesday, April 22, 2026

सय रुपैयाँमै करको कडाइ: भारतीय बजार सुनसान, सीमामा ८०%सम्म घट्यो चहलपहल”


धनगढी । भारतबाट ल्याइने सामानमा १०० रुपैयाँभन्दा माथि मूल्य भए भन्सार महसुल अनिवार्य तिर्नुपर्ने नियम कडाइका साथ लागू भएपछि सुदूरपश्चिमका सीमावर्ती क्षेत्रहरूमा चहलपहल उल्लेख्य रूपमा घटेको छ।

पहिले दैनिक उपभोगका सामान किन्न भारतीय बजारतर्फ जाने नेपालीहरूको भीड लाग्ने त्रिनगर र गड्डचौकी नाकामा अहिले सुनसानजस्तै अवस्था देखिन थालेको स्थानीय व्यापारीहरू बताउँछन्। कञ्चनपुरका व्यापारीहरूका अनुसार धनगढी, अत्तरियालगायत क्षेत्रका बासिन्दा सस्तो सामानको खोजीमा भारतका बनगाउँ र पलियासम्म जाने गर्थे, तर अहिले करको कडाइले त्यो प्रवृत्ति घटेको छ।

सरकारले सानो मूल्यका सामानमा समेत भन्सार अनिवार्य गरेपछि झन्झट बढेको भन्दै सर्वसाधारणले सीमापार किनमेल घटाएर स्थानीय बजारमै निर्भर हुन थालेका छन्। प्रशासनका अनुसार सीमावर्ती क्षेत्रमा किनमेल गर्न जानेहरूको संख्या करिब ८० प्रतिशतले घटेको छ।

कैलाली र कञ्चनपुरका नाकाहरूमा अहिले निगरानी कडा पारिएको छ। यसले अवैध रूपमा सामान ल्याउने गतिविधिमा नियन्त्रण ल्याउने प्रयास गरिएको भए पनि संगठित रूपमा ‘क्यारिङ’ गर्ने समूह भने अझै सक्रिय देखिएका छन्।

विशेषगरी आर्थिक रूपमा कमजोर वर्गका केही महिलाहरूले भन्सार छलेर सामान ओसार्ने कामबाट जीविकोपार्जन गर्दै आएका थिए। तर पछिल्लो कडाइपछि उनीहरू समेत समस्यामा परेको बताइएको छ। प्रशासनले भने तस्करी नियन्त्रणका लागि २४सै घण्टा निगरानी जारी राखिएको जनाएको छ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like