Thursday, January 15, 2026

सावित्रा भण्डारी ‘साम्बा’ घाइते, ए–लिग वुमनको सिजन गुमाउने


लमजुङ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मुख्य स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ घाइते भएकी छन् । अस्ट्रेलियाको ए–लिग वुमन खेलिरहेकी साम्बा शनिबार ब्रिस्बेनमा भएको राउन्ड–११ अन्तर्गत ब्रिस्बेन रोअरविरुद्धको खेलको दोस्रो हाफमा घाइते भएकी हुन् ।

हावामा उडिरहेको बल हेड गर्ने क्रममा रोअरकी गोलकिपरसँग ठोक्किँदा साम्बाको दाहिने खुट्टामा चोट लागेको थियो । उक्त घटनापछि उनी मैदानबाट बाहिरिएकी थिइन् ।

उनको क्लब वेलिङ्टन फिनिक्सले बुधबार साम्बाको चोटबारे औपचारिक जानकारी दिएको हो । क्लबका अनुसार एमआरआई परीक्षणमा साम्बाको दाहिने घुँडामा रहेको एन्टेरियर क्रुसिएट लिगामेन्ट (एसीएल) ग्राफ्ट फुटेको पुष्टि भएको छ । चोट गम्भीर भएकाले उनी ९ देखि १२ महिनासम्म मैदान बाहिर रहने र सिजनभर खेल्न नसक्ने क्लबले जनाएको छ ।

साम्बा सिजन २०२५–२६ का लागि गत साउनमा वेलिङ्टन फिनिक्ससँग आबद्ध भएकी थिइन् । अब उनले यो सिजनका सबै खेल गुमाउनेछिन् । वेलिङ्टन फिनिक्स न्युजिल्यान्डको क्लब भए पनि अस्ट्रेलियन क्लबहरूको सहभागिता रहेको ए–लिग वुमन प्रतियोगितामा प्रतिस्पर्धा गर्छ ।

फिनिक्सकी मुख्य प्रशिक्षक बेभ प्रिस्टम्यानले साम्बाको चोटले टोलीलाई गहिरो निराश बनाएको बताएकी छन् । “टोली उनको चोटबाट अत्यन्तै दुःखी छ,” उनले भनिन्, “साम्बा सम्भवतः टोलीकै सबैभन्दा लोकप्रिय खेलाडी हुन् । सबैले उनलाई धेरै माया गर्छन् ।”

प्रिस्टम्यानले साम्बा चाँडै निको भएर मैदान फर्किने विश्वास व्यक्त गरेकी छन् । क्लबले पनि आफ्नी स्ट्राइकरको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै गहिरो दुःख व्यक्त गरेको छ ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like