Monday, June 1, 2026

सरकारी बैंकमा राजीनामाको लहर : अध्यक्षदेखि सञ्चालकसम्म धमाधम बाहिरिँदै


काठमाडौं । सरकारी स्वामित्वका बैंकहरूमा सरकारको तर्फबाट प्रतिनिधित्व गर्ने अध्यक्ष तथा सञ्चालकहरूले धमाधम राजीनामा दिन थालेका छन्। राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकमा सरकारद्वारा नियुक्त पदाधिकारीहरूले बुधबार राजीनामा बुझाएका हुन्।

राष्ट्रिय वाणिज्य बैंकका सञ्चालक देवकुमार ढकालले सरकारलाई सहज होस् भन्ने उद्देश्यले आफूले राजीनामा दिएको बताएका छन्। उनीसँगै अन्य केही सञ्चालकहरूले पनि पदबाट बाहिरिने निर्णय गरेका छन्।

यता कृषि विकास बैंकका अध्यक्ष डिमप्रसाद पौडेलसहित अर्थ मन्त्रालयको तर्फबाट प्रतिनिधित्व गरेका सञ्चालकहरूले पनि बुधबार नै राजीनामा बुझाएका छन्। बैंकका कम्पनी सचिव हिमलाल पौडेलले अध्यक्ष र सरकारी प्रतिनिधि सञ्चालकहरूको राजीनामा आएको पुष्टि गरेका छन्।

यद्यपि, साधारण सेयरधनीको तर्फबाट नियुक्त सञ्चालक तथा स्वतन्त्र सञ्चालकहरूले भने हालसम्म राजीनामा दिएका छैनन्।

सरकारले अध्यादेशमार्फत १५ सयभन्दा बढी राजनीतिक नियुक्ति खारेज गरेपछि विभिन्न निकायमा पदत्यागको क्रम सुरु भएको हो। यद्यपि नेपाल राष्ट्र बैंक तथा बैंक तथा वित्तीय संस्थाहरू प्रत्यक्ष रूपमा उक्त निर्णयको दायरामा नपरे पनि अर्थ मन्त्रालयले सम्बन्धित पदाधिकारीलाई राजीनामा दिन संकेत गरेको स्रोतको भनाइ छ।

नेपाल बैंकका सञ्चालकहरूले भने अहिलेसम्म औपचारिक रूपमा राजीनामा नदिए पनि निकट भविष्यमा पद छाड्ने प्रतिबद्धता जनाएको बताइएको छ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like