- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं - प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीमा ३ प्रतिशतभन्दा कम मत पाउने राजनीतिक दलहरूको सूची निर्वाचन आयोगले सार्वजनिक गरेको छ। आयोगका अनुसार, कुल ५१ दलले थ्रेसहोल्ड कटाउन सकेनन्।
फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिक प्रणालीतर्फ १ करोड १२ लाख ८० हजार ६१७ मत खसेको थियो। निर्वाचन आयोगले यीमध्ये १ करोड ८ लाख ३५ हजार २५ मत मान्य भएको जनाएको छ।
समानुपातिकतर्फ ५७ निर्वाचन चिन्हमा दलहरूको बन्दसूची पेश गरिएको थियो। तर, तीमध्ये ५१ दलले कुल मान्य मतको ३ प्रतिशतभन्दा कम मत प्राप्त गरे। प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० उपदफा (१२) अनुसार, ३ प्रतिशतभन्दा कम मत पाउने दलको मत समानुपातिक सिट बाँडफाँटमा समावेश हुँदैन।
जसपा नेपालले १ लाख ८२ हजार २८५ मत पाएको छ भने राष्ट्रिय परिवर्तन पार्टीले १ लाख ७२ हजार ४८९ मत प्राप्त गरेको थियो। जनमत पार्टीसहितका ५१ दलले थ्रेसहोल्ड कटाउन सकेनन्, तीमध्ये ४ दलले त १ हजार भोट पनि प्राप्त गर्न सकेनन्।