- by समाचार कक्ष
- Mar 06, 2025
विराटनगर । शेखर कोइरालाले सुकुमबासी समुदायको दीर्घकालीन व्यवस्थापनलाई आफ्नो प्रमुख चुनावी प्राथमिकतामा राख्दै ठोस पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। मोरङ–६ का प्रतिनिधिसभा उम्मेदवारसमेत रहेका उनले सुकुमबासी बस्तीका समस्या समाधानका लागि संस्थागत रूपमा अगाडि बढ्ने स्पष्ट संकेत दिएका हुन्।
कांग्रेस विराटनगर–६ द्वारा आयोजित चुनावी सभामा सम्बोधन गर्दै कोइरालाले सुकुमबासी आयोगका सदस्यहरूसँग प्रारम्भिक चरणको संवाद भइसकेको जानकारी दिए। उनका अनुसार निकट भविष्यमा आयोगका प्रतिनिधिहरू स्वयं बस्तीमा पुगेर स्थानीय बासिन्दाका गुनासा र आवश्यकता प्रत्यक्ष रूपमा सुन्ने वातावरण तयार गरिनेछ।
“तपाईंहरूको समस्या म नजिकबाट बुझिरहेको छु। आयोगका सदस्यसँग कुरा भइसकेको छ। उहाँहरू यहाँ आउनुहुन्छ, समस्या सुन्नुहुन्छ र व्यवस्थापन प्रक्रिया अघि बढ्छ,” उनले भने। सुकुमबासीलाई कानुनी मान्यतासहित सुरक्षित बसोबासको सुनिश्चितता दिन आवश्यक प्रक्रिया अगाडि बढाइने उनको दाबी थियो।
यससँगै उनले विराटनगरको दीर्घकालीन विकाससँग जोडिएको महत्त्वपूर्ण योजना - विराटनगर चक्रपथ (रिङरोड) निर्माण - लाई पनि आफ्नो प्राथमिक एजेन्डामा राखेका छन्। चक्रपथ नबन्दा शहरको पूर्वाधार विकासले अपेक्षित गति लिन नसकेको उनको भनाइ थियो। उनका अनुसार चक्रपथ निर्माण सम्पन्न भएको भए वडा नं. ६ र ४ को भौतिक तथा आर्थिक स्वरूपमा उल्लेखनीय परिवर्तन देखिने थियो।
निर्वाचनमा विजयी भए आवश्यक बजेट विनियोजन र सम्बन्धित निकायसँग समन्वय गरी चक्रपथ निर्माणलाई तीव्रता दिने उनले प्रतिबद्धता जनाए।
वडा नं. ६ भित्रका कालोपत्रे सडक योजनाबारे बोल्दै उनले ठेक्का प्रक्रिया पूरा भए पनि ठेकेदार सम्पर्कविहीन हुँदा काम अधुरो रहेको बताए। निर्वाचनपछि उक्त योजना पुनः सञ्चालनमा ल्याएर सम्पन्न गरिने उनले आश्वासन दिए।
त्यसैगरी, वडा नं. ६ नजिकैको सुकुमबासी बस्ती क्षेत्रमा अस्पताल स्थापना गर्ने तयारी पनि अगाडि बढिरहेको उनले जानकारी दिए। करिब दुई वर्षअघि नै अस्पताल निर्माणका लागि जग्गा छुट्याइएको उल्लेख गर्दै अब कार्यान्वयन चरणमा प्रवेश गराउनुपर्ने उनले जोड दिए। स्थानीयवासीलाई आधारभूत स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउन अस्पताल अपरिहार्य रहेको उनको भनाइ थियो।