Wednesday, August 26, 2026

रसुवाको टिमुरेमा भीषण बाढी, बजारका अधिकांश घरमा क्षति


बुधबार बिहान आएको आकस्मिक बाढीले रसुवाको टिमुरे बजारमा ठूलो क्षति पुर्‍याएको छ। बिहान करिब ९ बजे आएको बाढीले बजार क्षेत्रका घर तथा बस्तीमा व्यापक क्षति भएको प्रारम्भिक जानकारी छ।

बागमती प्रदेश प्रहरी कार्यालयका डीआईजी दीपक रेग्मीका अनुसार बाढीले टिमुरे बजारका धेरै घर बगाएको छ। प्रारम्भिक विवरणअनुसार बजार क्षेत्रमा ५ देखि ७ वटा घर मात्र बाँकी रहेको जानकारी आएको छ।

यद्यपि, बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको यकिन विवरण भने अझै प्राप्त भएको छैन। प्रहरी तथा सम्बन्धित निकायले प्रभावित क्षेत्रमा उद्धार र अवस्थाबारे जानकारी संकलन गरिरहेका छन्।

टिमुरेस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत १५ प्रहरीमध्ये हालसम्म ८ जना मात्र सम्पर्कमा आएको बताइएको छ। बाँकी प्रहरीको अवस्थाबारे खोजी तथा थप विवरण संकलन भइरहेको छ।

यसैबीच, बाढी पूर्वानुमान महाशाखाले भोटेकोसी नदीमा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। त्रिशूली नदीको तटीय क्षेत्र हुँदै मुग्लिनसम्मका बासिन्दालाई सुरक्षित स्थानमा जान र अर्को सूचना नआएसम्म सतर्क रहन भनिएको छ।

टिमुरेमा भएको वास्तविक क्षतिको पूर्ण विवरण आउन बाँकी रहेकाले अहिले उद्धार, खोजी तथा जोखिम न्यूनीकरणलाई प्राथमिकता दिइएको छ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like