- by समाचार कक्ष
- Mar 06, 2025
प्रधानमन्त्री बालेन्द्र शाहसँग प्रतिनिधि सभामा हुने प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमका लागि विभिन्न राजनीतिक दलका ११ जना सांसदले प्रश्न दर्ता गराएका छन्।
प्रतिनिधि सभा नियमावलीअनुसार दलीय उपस्थितिका आधारमा १५ जना सांसदले प्रधानमन्त्रीसँग प्रश्न सोध्न पाउने व्यवस्था भए पनि यसपटक ११ जनाले मात्रै नाम दर्ता गराएका हुन्।
संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीबाट ७ जना सांसदले प्रश्न सोध्न पाउने भए पनि ३ जनाले मात्र प्रश्न दर्ता गराएका छन्।
प्रधानमन्त्रीलाई प्रश्न सोध्नेमा रास्वपाका अमरेशकुमार सिंह, समीक्षा बास्कोटा र कृष्णहरि बुढाथोकी छन्। नेपाली कांग्रेसबाट वासना थापा र गीता गुरुङ तथा नेकपा एमालेबाट ऐनबहादुर महर र गणेशसिंह ठगुन्नाले प्रश्न दर्ता गराएका छन्।
त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीबाट वर्षमान पुन र प्रमेशकुमार हमाल, श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्कराज राई तथा राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले पनि प्रधानमन्त्रीलाई प्रश्न सोध्नेछन्।
अब सांसदहरूले प्रधानमन्त्रीसँग कुन–कुन विषयमा प्रश्न उठाउँछन् र प्रधानमन्त्री शाहले त्यसको जवाफ कसरी दिन्छन् भन्ने विषय चासोमा परेको छ।
सत्तारुढ दलदेखि प्रमुख प्रतिपक्षी तथा अन्य दलका सांसदसमेत सहभागी हुने भएकाले प्रतिनिधि सभाको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम राजनीतिक रूपमा महत्वपूर्ण र रोचक बन्ने देखिएको छ।