- by समाचार कक्ष
- Mar 06, 2025
बुटवल – रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाली कांग्रेसको उम्मेदवार चुन्नप्रसाद शर्मा (पौडेल) लाई समर्थन गर्ने निर्णय गरेको छ। राप्रपाले प्राविधिक कारण देखाउँदै आफ्नी उम्मेदवारी फिर्ता लिएको छ र आइतबार जारी विज्ञप्ति मार्फत कांग्रेसलाई समर्थन गर्ने जानकारी दिएको हो।
राप्रपाका क्षेत्रीय अध्यक्ष रामबहादुर थापाका अनुसार, देशको आर्थिक, सामाजिक र समृद्धि सम्बन्धी एजेन्डा कांग्रेससँग नजिक रहेको हुँदा पौडेललाई समर्थन गर्ने निर्णय गरिएको हो। यस निर्णयसँगै नेकपा एमालेका उम्मेदवार विष्णुप्रसाद पौडेललाई केही राजनीतिक धक्का पुगेको छ।
थापाले विज्ञप्तिमा भनेका छन् कि “हाम्रा सिद्धान्त र वैचारिक भिन्नता भए पनि वर्तमान समयमा राप्रपा रुपन्देही क्षेत्र नम्बर २ को संगठनलाई एकत्रित राख्दै बहस र छलफलको सन्दर्भलाई ध्यानमा राखेर नेपाली कांग्रेसका समाजसेवी एवं उद्योगी उम्मेदवार चुन्नप्रसाद शर्मा पौडेललाई समर्थन गर्ने निर्णय गरिएको छ।”
यसै निर्वाचनमा नेकपा एमालेबाट विष्णुप्रसाद पौडेल, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट सुभाष पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सुलभ खरेल उम्मेदवार बनेका छन्। प्रतिनिधि सभा निर्वाचन यही फागुन २१ गते हुँदैछ।