- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौँ, माघ १९ - प्रधानमन्त्री सुशीला कार्कीले स्वतन्त्र, निष्पक्ष र विश्वसनीय वातावरणमा निर्वाचन सम्पन्न गर्न नेपाल प्रहरीको भूमिका अत्यन्त संवेदनशील र निर्णायक हुने बताएकी छन्।
सोमबार काठमाडौँमा आयोजित नेपाल प्रहरी निरीक्षकहरूको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले आगामी निर्वाचनलाई उत्तरदायी लोकतान्त्रिक यात्राको महत्वपूर्ण कोसेढुङ्गा भएको उल्लेख गरिन्। उनले फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै कुनै पनि राजनीतिक प्रभाव, दबाब वा पूर्वाग्रहबाट मुक्त भएर आफ्नो जिम्मेवारी निर्वाह गर्न सुरक्षा निकायलाई निर्देशन दिइन्।
प्रधानमन्त्री कार्कीले नेपाल प्रहरीको विगतदेखि वर्तमानसम्मको कार्यसम्पादनले प्रहरी र समुदायबीचको सम्बन्ध सुदृढ रहेको प्रमाणित गरेको उल्लेख गर्दै सुरक्षा निकायको निष्पक्षता नै लोकतन्त्रको बलियो सुरक्षा कवच भएको बताइन्।
उनले बदलिँदो समयसँगै परम्परागत अपराधका अतिरिक्त साइबर अपराध, संगठित अपराध, वित्तीय अपराध, बहुदेशीय अपराध तथा सामाजिक द्वन्द्वका नयाँ चुनौतीहरू देखापरेको उल्लेख गर्दै प्रहरी निरीक्षकहरूको भूमिका अब आदेश पालनामा मात्र सीमित नरही समस्याको समाधानकर्ताका रूपमा विकसित हुनुपर्ने आवश्यकता औँल्याइन्।