Thursday, January 15, 2026

न्युयोर्क अदालतमा नाटकीय पेशी: ‘अपहरण गरिएको राष्ट्रपति हुँ’ भन्दै मादुरोले लगाए आरोप


२२ पुस, काठमाडौं । अमेरिकाको न्युयोर्क सिटीस्थित एक अदालतमा भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको पेशी नाटकीय बनेको छ । अदालतको ढोकाबाट प्रवेश गर्नुअघि उनको खुट्टामा बाँधिएको साङ्लोको आवाज सुनिँदै गर्दा मादुरोले पत्रकार र दर्शकले भरिएको ग्यालरीतर्फ हेर्दै आफूलाई ‘अपहरण’ गरिएको दाबी गरे ।

अदालतमा उपस्थित भएलगत्तै न्यायाधीश एल्विन हेलरस्टिनले अदालती प्रक्रिया अघि बढाउन मादुरोलाई आफ्नो परिचय पुष्टि गर्न निर्देशन दिए । त्यसक्रममा मादुरोले शान्त स्वरमा स्पेनिश भाषामा आफू भेनेजुएला गणराज्यको राष्ट्रपति भएको र जनवरी ३ देखि अपहरणमा परेको दाबी गरे । उनका भनाइको अदालतमा अनुवाद गरिएको थियो । न्यायाधीशले भने तत्काल उनलाई निर्दोष साबित हुने प्रक्रिया अघि बढाउन ‘समय र स्थान’ तोकिने जानकारी गराए ।

सोमबार दिउँसो करिब ४० मिनेट चलेको सुनवाइका क्रममा मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसले ड्रग्स र हतियारसँग सम्बन्धित आरोपहरू अस्वीकार गर्दै आफूहरू निर्दोष रहेको जिकिर गरे । “म निर्दोष छु, म एक सभ्य मानिस हुँ,” मादुरोले भने । फ्लोरेसले पनि आफू ‘पूर्ण रूपमा निर्दोष’ रहेको दाबी गरिन् ।

६३ वर्षीय मादुरो र उनकी पत्नीलाई शनिबार भेनेजुएलामा अमेरिकी सुरक्षाकर्मीले पक्राउ गरी न्युयोर्क ल्याइएको थियो । यो कारबाही अचानक गरिएको अभियानअन्तर्गत भएको बताइएको छ, जसका क्रममा केही सैन्य ठेगानामा आक्रमणसमेत गरिएको थियो ।

सुनवाइका बेला दुवैले जेलमा लगाइने निले र सुन्तला रंगको पोशाक तथा खैरो पाइन्ट लगाएका थिए । उनीहरूले स्पेनिश अनुवाद सुन्न हेडफोन प्रयोग गरेका थिए । मादुरो पँहेलो रंगको लिगल प्याडमा नोट्स लिँदै गरेको देखिन्थे र सो प्याड आफूसँग राख्न पाउने–नपाउनेबारे न्यायाधीशसँग जिज्ञासा पनि राखे ।

अदालत कक्षमा प्रवेश गर्दा मादुरोले पछाडि फर्किएर दर्शक दीर्घामा रहेका केही व्यक्तिलाई टाउको हल्लाउँदै अभिवादन गरेका थिए । सुनवाइभर उनको अनुहार भावहीन देखिएको थियो । अन्त्यतिर दर्शक दीर्घाबाट एक व्यक्तिले “मादुरो, तपाईंले आफ्नो अपराधको मूल्य चुकाउनुहुनेछ” भन्दै चिच्याउँदा पनि मादुरोले शान्त स्वरमै आफू ‘अपहरण गरिएको राष्ट्रपति र युद्धबन्दी’ भएको प्रतिक्रिया दिए । त्यसपछि ती व्यक्तिलाई अदालत कक्षबाट बाहिर निकालियो ।

भेनेजुएलाकी पत्रकार मेबोर्ट पेटिटले मादुरोको गिरफ्तारीका क्रममा भएको अमेरिकी कारबाहीका कारण कराकासस्थित फुएर्ते तिउना नजिक रहेको आफ्नो पारिवारिक घर क्षतिग्रस्त भएको बताइन् । अमेरिकी मार्शलको निगरानीमा जेल पोशाकमा अदालतमा उपस्थित पूर्वराष्ट्रपतिलाई देख्नु भावनात्मक र अनौठो अनुभव भएको उनको भनाइ थियो ।

मादुरोकी पत्नी फ्लोरेस शान्त देखिइन् । उनको निधार र आँखानजिक चोटको निशान देखिएको थियो । वकिलहरूले अमेरिकी कारबाहीका क्रममा चोट लागेको दाबी गर्दै अदालतसँग उचित चिकित्सा सुविधा उपलब्ध गराउन माग गरेका छन् ।

अमेरिकाले मादुरोविरुद्ध नार्को–आतंकवादको षड्यन्त्र, कोकिन आयातको षड्यन्त्र, मेसिन गन तथा विनाशकारी उपकरण राखेको आरोप लगाएको छ । मादुरोसहित उनकी पत्नी, छोरा र अन्य केही व्यक्तिविरुद्ध पनि आरोप दर्ता गरिएको छ । यस मुद्दाको अर्को सुनवाइ आगामी मार्च १७ मा हुने तय भएको छ ।

— बीबीसी हिन्दीबाट अनुवाद

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like