- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं - प्रतिनिधिसभा नियमावलीको मस्यौदा आज सभामुखसमक्ष पेश गर्ने तयारी गरिएको छ। मस्यौदा तयार पार्न गठन गरिएको समितिको कार्यावधि आजै सकिने भएकाले दिउँसो ३ बजेभित्र अन्तिम प्रतिवेदन बुझाउने योजना बनाइएको हो।
समिति सदस्य यज्ञमणि न्यौपानेका अनुसार बाँकी रहेका विषयमा सहमति जुटाउन आज मध्यान्ह १२ बजे बैठक बस्नेछ। सो बैठकपछि आवश्यक परिमार्जनसहित मस्यौदा सभामुखलाई हस्तान्तरण गरिनेछ।
गत चैत २३ गते प्रतिनिधिसभाले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीको संयोजकत्वमा मस्यौदा समिति गठन गरेको थियो। समितिमा विभिन्न दलका सांसदहरूको सहभागिता रहेको छ।
तयार पारिएको नयाँ नियमावलीमा संसदीय परम्परा, विगतका अभ्यास र २०१६ सालयताका अनुभवलाई समेट्दै वर्तमान शासन व्यवस्थाअनुसार आवश्यक प्रावधानहरू समावेश गरिएको जनाइएको छ।
यस नियमावलीले आगामी पाँच वर्षसम्म प्रतिनिधिसभा सञ्चालनलाई व्यवस्थित बनाउने, कानुन निर्माण प्रक्रियालाई प्रभावकारी बनाउने, सांसदहरूको भूमिका सुदृढ गर्ने तथा कार्यपालिकालाई थप जवाफदेही बनाउने लक्ष्य राखेको छ। साथै, व्यवस्थापिकाको गरिमा जोगाउने उद्देश्य पनि मस्यौदामा केन्द्रित गरिएको छ।
समितिले यसअघि सभामुख तथा पूर्वमहासचिवहरूसँग परामर्श गर्दै सुझाव संकलन गरेको थियो। मस्यौदा प्रचलित कानुन, अदालतका फैसलाहरू तथा अघिल्ला संसदीय अभ्याससँग सुसंगत रहने गरी तयार पारिएको बताइएको छ।