- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं - सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माण प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ। यसका लागि बजेट लेखन समिति गठन गरिएको छ।
आगामी बजेटको मस्यौदा तयार पार्ने, नीति तथा प्राथमिकता निर्धारण गर्ने जिम्मेवारीसहित राजश्व व्यवस्थापन महाशाखाका प्रमुख उत्तरकुमार खत्रीको संयोजकत्वमा समिति गठन गरिएको हो।
समितिमा अर्थ मन्त्रालयका विभिन्न महाशाखा प्रमुखहरू सदस्यका रूपमा समावेश छन्। सदस्यहरूमा बजेट तथा कार्यक्रम महाशाखाका प्रमुख डा. सुमन दाहाल, अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका प्रमुख डा. धनीराम शर्मा, आर्थिक नीति विश्लेषण महाशाखाका प्रमुख महेश भट्टराई तथा वित्तीय संघीयता समन्वय महाशाखाका प्रमुख सेवन्तक पोखरेल रहेका छन्।
उक्त समितिले आगामी आर्थिक वर्षका लागि आवश्यक नीति तथा कार्यक्रमसम्बन्धी सुझाव तयार पार्ने, प्राथमिकता निर्धारण गर्ने र कार्यान्वयन हुने योजना छनोटमा सहजीकरण गर्ने जिम्मेवारी पाएको छ।
साथै, संघीय संसदमा प्रस्तुत गरिने विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकताको मस्यौदा तयार गर्ने र अर्थमन्त्रीले प्रस्तुत गर्ने बजेट वक्तव्यको अन्तिम रूप तयार पार्ने कार्य पनि यही समितिले गर्नेछ।