- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं - नेपालमा न्युरोसर्जरी सेवाको सुरुवात गर्ने अग्रणी वरिष्ठ चिकित्सक डा. दिनेशनाथ गोंगलको निधन भएको छ। ९२ वर्षीय गोंगलको मंगलबार बिहान काठमाडौंस्थित आफ्नै निवासमा निधन भएको हो। उनको अन्त्येष्टि आजै गर्ने तयारी गरिएको छ।
डा. गोंगलको निधनसँगै नेपाली चिकित्सा क्षेत्रले एक युगान्तकारी व्यक्तित्व गुमाएको छ, जसले देशको शल्यचिकित्सा विकासमा ऐतिहासिक योगदान पुर्याएका थिए।
आफ्नो लामो चिकित्सकीय यात्रामा उनले नेपालमै पहिलोपटक न्युरोसर्जरीका साथै पिट्युटरी ट्युमरको शल्यक्रिया, स्पाइनल इन्जुरीका लागि ल्यामिनेक्टोमी, फोक्सोको न्युमोनेक्टोमी, मुटुको माइट्रल भाल्भोटोमी तथा जटिल पेटसम्बन्धी शल्यक्रियाहरू सफलतापूर्वक सम्पन्न गरेका थिए।
करीब चार दशक वीर अस्पतालमा सेवा दिएका डा. गोंगलले आफ्नो जीवनकालमा ४० हजारभन्दा बढी शल्यक्रिया गरेको उल्लेख छ। उनी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का संस्थापक निर्देशकसमेत हुन्।
वि.सं. १८८९ चैतमा काठमाडौंमा जन्मिएका गोंगलले त्रिचन्द्र कलेजबाट विज्ञानमा स्नातक गरेपछि भारतको दरभंगा मेडिकल कलेजबाट एमबीबीएस र बम्बईको ग्रान्ट मेडिकल कलेजबाट एमएस गरेका थिए।
सन् १९६१ मा नेपाल फर्किएपछि उनले वीर अस्पतालमा काम सुरु गर्दै सीमित स्रोत–साधनका बीच पनि जटिल शल्यक्रियाहरूको अभ्यास र विकासमा नेतृत्वदायी भूमिका खेले। पर्याप्त उपकरणको अभाव हुँदा पनि उनले जोखिम मोलेर नयाँ शल्य विधिहरूको सुरुवात गरेका थिए।
नेपाल चिकित्सक संघले उनको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनलाई नेपाली चिकित्सा इतिहासको एक अविस्मरणीय हस्तीका रूपमा स्मरण गरेको छ।