- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं - गृहमन्त्री सुधन गुरुङसँग प्रधानमन्त्री बालेन्द्र शाहले स्पष्टीकरण मागेको चर्चा सार्वजनिक भइरहेका बेला प्रधानमन्त्रीको सचिवालयले त्यसलाई अस्वीकार गरेको छ। सचिवालयका अनुसार हालसम्म गृहमन्त्रीलाई कुनै पनि लिखित स्पष्टीकरण सोधिएको छैन।
सम्पत्ति शुद्धीकरणको आरोपमा पक्राउ परेका व्यवसायी दीपक भट्टसँग साझेदारी रहेको विषय सार्वजनिक भएपछि गृहमन्त्री विवादमा तानिएका छन्। यस विषयलाई लिएर सामाजिक सञ्जालमा उनको राजीनामा मागसमेत उठिरहेको छ। यद्यपि प्रधानमन्त्री कार्यालयले भने अहिलेसम्म कुनै औपचारिक कारबाही वा निर्णय नभएको स्पष्ट पारेको छ।
सचिवालय स्रोतका अनुसार बाहिर आएका विषयप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण भए पनि तत्काल कुनै निर्णय नभएको जनाएको छ। साथै, २०६२/६३ पछिका उच्च पदस्थ राजनीतिक व्यक्तिहरूको सम्पत्ति छानबिनका लागि गठन गरिएको आयोगमार्फत नै यस्ता विषयको अनुसन्धान हुने बताइएको छ।
सचिवालयका एक सदस्यले नाम नबताउने शर्तमा भने, “गृहमन्त्रीले सार्वजनिक रूपमा स्पष्टीकरण दिइसक्नुभएको छ। उहाँको सम्पत्तिबारे सम्पत्ति जाँचबुझ आयोगले हेर्छ। अहिलेसम्म कुनै थप निर्णय भएको छैन।”
यता, गृहमन्त्रीको सचिवालयले भने आवश्यक परेमा स्पष्टीकरण दिन तयार रहेको बताउँदै हालसम्म कुनै औपचारिक स्पष्टीकरण माग नभएको स्पष्ट पारेको छ।