Saturday, April 18, 2026

नेपालको नयाँ सरकारसँग मिलेर काम गर्न बेलायतको चासो


लन्डन, २९ फागुन । बेलायत सरकारले हालै सम्पन्न नेपालको आमनिर्वाचनपछि बन्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारसँग सहकार्य गर्न उत्सुकता व्यक्त गरेको छ।

बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडी र इण्डो–प्यासिफिक मामिला हेर्ने बेलायती मन्त्री सीमा मल्होत्राबीच लन्डनस्थित बेलायती विदेश मन्त्रालयमा भएको शिष्टाचार भेटमा नेपाल–बेलायत सम्बन्ध र आगामी सहकार्यका विषयमा विस्तृत छलफल भएको हो।

नेपाली दूतावासका अनुसार करिब एक घण्टा चलेको उक्त भेटमा नेपालको पछिल्लो राजनीतिक परिवर्तन, व्यापार तथा लगानी विस्तार, जलवायु परिवर्तन, सामाजिक–आर्थिक विकास लगायतका क्षेत्रमा बेलायतले गर्न सक्ने सहयोग र प्राथमिकताबारे विचार आदान–प्रदान भएको थियो।

कार्यवाहक राजदूत दुवाडीका अनुसार बेलायतले संसदमा सबैभन्दा ठूलो दलका रूपमा उदाएको रास्वपाको प्राथमिकतासँग मिलेर काम गर्ने विषयमा चासो देखाएको छ। उनले नेपाललाई विभिन्न क्षेत्रमा सहयोग गर्न बेलायत सकारात्मक रहेको पनि बताए।

भेटका क्रममा भूतपूर्व गोर्खा सैनिकहरूको मुद्दा पनि उठाइएको थियो। राजदूत दुवाडीले सो विषयमा पहल गरिदिन मन्त्री मल्होत्रासमक्ष आग्रह गरेको जानकारी दिएका छन्।

यसअघि बेलायती मन्त्री मल्होत्राले मार्च ६ मा सामाजिक सञ्जालमार्फत नेपालमा सम्पन्न शान्तिपूर्ण संसदीय निर्वाचनको स्वागत गर्दै नयाँ सरकारसँग सहकार्य गर्न बेलायत तयार रहेको उल्लेख गरेकी थिइन्।

निर्वाचनपछि काठमाडौंस्थित बेलायती दूतावासले पनि रास्वपालाई ऐतिहासिक निर्वाचन सफलताका लागि बधाई दिँदै आगामी दिनमा सहकार्यलाई थप मजबुत बनाउने प्रतिबद्धता जनाएको थियो।

नेपाल र बेलायतबीचको औपचारिक कूटनीतिक सम्बन्ध सन् १८१६ देखि सुरु भएको हो। दुई देशबीचको दीर्घकालीन मित्रता र विशेषगरी ब्रिटिश गोर्खा सैनिकहरूको इतिहासले सम्बन्धलाई अझ सुदृढ बनाएको मानिन्छ। बेलायत नेपालका प्रमुख विकास साझेदारमध्ये एक हो।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like