Monday, March 2, 2026

माधव नेपाल जोडिएको पतञ्जलि भ्रष्टाचार प्रकरण: विशेष अदालतमा माघ १४ गते सुनुवाइ


काठमाडौं - पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सहसंयोजक माधवकुमार नेपाल जोडिएको पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालसम्बन्धी भ्रष्टाचार मुद्दाको पेसी तोकिएको छ। विशेष अदालतले उक्त मुद्दाको सुनुवाइ माघ १४ गतेका लागि निर्धारण गरेको हो।

यसअघि विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश हेमन्त रावलको इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई माधव नेपालसहित सम्बन्धित अनुसन्धान फाइल पेश गर्न आदेश दिएको थियो। तर पहिलो पटक आदेश हुँदाहुँदै पनि अख्तियारले फाइल नपठाएपछि अदालतले पुनः आदेश जारी गरेको थियो।

बुधबार अख्तियारबाट आवश्यक फाइलहरू प्राप्त भएपछि अदालतले मुद्दाको पेसी तोकेको हो। विशेष अदालतका सूचना अधिकारी यज्ञ रेग्मीका अनुसार यसअघि अख्तियारले मुद्दा नचलाउने निर्णयसहित फाइल तामेलीमा राखिएको थियो, र सो निर्णयमाथि सुनुवाइ गर्न माघ १४ गते पेसी तोकिएको हो।

उक्त प्रकरणमा अख्तियारले गत जेठ २२ गते पतञ्जलि सम्बन्धी जग्गा हिनामिना प्रकरणमा माधव नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो। आयोगले प्रतिवादीहरूबाट १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बराबरको बिगो मागदाबी गरेको छ।

अख्तियारका अनुसार नेपाल प्रधानमन्त्री रहेका बेला २०६६ फागुन ६ गते बसेको मन्त्रिपरिषद् बैठकबाट पतञ्जलिलाई हदबन्दीभन्दा बढी जग्गा व्यक्तिलाई लाभ हुने गरी हस्तान्तरण गर्ने निर्णय गरिएको थियो। सोही निर्णयका कारण ३१४ रोपनी १५ आना २ पैसा १ दाम जग्गा हिनामिना भएको ठहर अख्तियारको छ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like