Monday, March 2, 2026

मधेशमा बलिदानी दिवसः प्रथम शहीद रमेश महतोको स्मृतिमा श्रद्धाञ्जली, १९ वर्षअघि उठेको आन्दोलन पुनः स्मरण


जनकपुरधाम, ५ माघ — मधेश प्रदेशमा आज बलिदानी दिवस विभिन्न कार्यक्रमसहित मनाइँदै छ। दिवसको अवसरमा मधेश आन्दोलनका प्रथम शहीद रमेश महतोको शालिकमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।

आज रमेश महतोको १९औँ स्मृति दिवस पनि परेको छ। १९ वर्षअघि उनको सहादत भएको यही दिनलाई स्मरण गर्दै मधेश केन्द्रित राजनीतिक दलहरूले बलिदानी दिवसका रूपमा मनाउँदै आएका छन्।

प्रथम मधेश आन्दोलन सुरु भएको आज ठीक १९ वर्ष पूरा भएको छ। २०६३ साल माघ ५ गते सिरहाको लहानमा भएको आन्दोलनका क्रममा विद्यार्थी रमेश महतोको ज्यान गएको थियो। तत्कालीन मधेसी जनअधिकार फोरम नेपालका नेताहरूले अन्तरिम संविधानको प्रतिलिपि जलाएपछि प्रहरीले संयोजक उपेन्द्र यादवलाई पक्राउ गरेको थियो। त्यसपछि चर्किएको आन्दोलनका क्रममा लहानस्थित लिटिल स्टार बोर्डिङ स्कुलमा अध्ययनरत सिरहा मझौराका रमेश महतोको मृत्यु भएपछि मधेशभर आन्दोलन झनै उग्र बनेको थियो।

उक्त घटनापछि माघ ५ गतेलाई मधेश केन्द्रित दलहरू र मधेश प्रदेश सरकारले बलिदानी दिवसका रूपमा मनाउँदै आएका छन्। यस अवसरमा मधेश प्रदेशमा सार्वजनिक बिदा समेत दिइएको छ।

बलिदानी दिवसको अवसरमा जसपा र जनमत पार्टीलगायत मधेश केन्द्रित दलहरूले प्रदेशका विभिन्न स्थानमा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी शहीदहरूको सम्झना गरेका छन्।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like