- by समाचार कक्ष
- Mar 06, 2025
नवलपरासी, २० माघ - प्रधानमन्त्री सुशीला कार्कीले मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन गरिने स्पष्ट पारेकी छन्।
(बर्दघाट सुस्तापूर्व) नवलपरासीको कावासोती नगरपालिका-१, हात्तिखोरमा आयोजित राष्ट्रिय सेवा दलको तालिम समापन कार्यक्रममा सहभागी भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्री कार्कीले सरकारले निर्वाचन सम्पन्न गराउन आवश्यक सबै सहयोग गर्ने बताइन्।
उनले भनिन्, “विशेषगरी हिमाली जिल्लामा मौसम अनुकूल नभए दोस्रो चरणमा निर्वाचन गराउने तयारी सरकारको छ।” कम मतदाता रहेका क्षेत्रमा सवारीसाधनको प्रयोग गरी मतदाता ओसारेर भए पनि निर्वाचन सम्पन्न गराइने उनको भनाइ थियो।
प्रधानमन्त्री कार्कीले अत्यन्तै असहज अवस्था सिर्जना भएमा मात्रै दोस्रो चरणमा निर्वाचन गराउने विकल्पमा जाने उल्लेख गरिन्। हालसम्म कुनै पनि कारणले निर्वाचन सार्ने विषयले प्रवेश नपाएको बताउँदै उनले सबैलाई ढुक्क भएर आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीमा जुट्न आग्रह गरिन्।
समयमै निर्वाचन सम्पन्न गरी नवनिर्वाचित जनप्रतिनिधिले राज्य व्यवस्थाको नेतृत्व गर्दै देशलाई नयाँ दिशातर्फ अघि बढाउनेमा आफू विश्वस्त रहेको प्रधानमन्त्री कार्कीको भनाइ छ।
विशेष परिस्थितिमा हुन लागेको निर्वाचन भएकाले केही चुनौती आउन सक्ने स्वीकार गर्दै उनले ती चुनौती समाधान गर्दै निर्वाचन सफलतापूर्वक सम्पन्न गराइने प्रतिबद्धता व्यक्त गरिन्।