- by समाचार कक्ष
- Mar 06, 2025
२५ पुस, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारमा सहभागी मन्त्रीहरूलाई कुनै पनि दलतिर ढल्कने छुट नभएको स्पष्ट पारेका छन् ।
शुक्रबार ललितपुरमा आयोजित बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा मन्तव्य राख्दै उनले जेनजी आन्दोलनपछि बनेको वर्तमान सरकारको म्यान्डेट स्मरण गराउँदै सरकारको प्रमुख दायित्व तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नु र सुशासन कायम गर्नु रहेको बताए ।
गृह मन्त्रालय र बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा संयुक्त रूपमा आयोजित उक्त गोष्ठीमा बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बाँनिया, प्रदेशका आन्तरिक मामिला मन्त्री तथा सुरक्षा निकायका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमको उद्घाटन समारोहमा गृहमन्त्री अर्यालले सरकार निर्वाचनको प्रक्रियामा प्रवेश गरिसकेको उल्लेख गर्दै तोकिएको मितिमै निर्वाचन हुनेमा कुनै शंका नगर्न सबै सरोकारवालालाई आग्रह गरे । जेनजी जनआन्दोलन सुशासन कायम गर्ने उद्देश्यले भएको बताउँदै उनले सुशासन स्थापनाका लागि सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको पनि बताए ।
तोकिएको मितिमा निर्वाचन हुन नसके देशले गम्भीर संकट सामना गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिँदै उनले सरकारले तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्ने दृढ संकल्प गरेको स्पष्ट पारे । साथै सरकारले गरिरहेका कामप्रति हौसला प्रदान गरी सरकारको मनोबल बढाउन पनि सबै पक्षलाई आग्रह गरे ।
यसै अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बाँनियाले सरकारमा रहेका मन्त्रीहरूको गतिविधिले निर्वाचनको वातावरण बिगार्न सक्ने भन्दै सचेत रहनुपर्ने बताए । स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षा निकायलाई आवश्यक साधन–स्रोतले सम्पन्न बनाउनुपर्ने उनको भनाइ थियो ।
मुख्यमन्त्री बाँनियाले यसपटकको निर्वाचनमा विगतजस्तो भय र त्रासको वातावरण नभए पनि अविश्वास भने कायम रहेको उल्लेख गरे । उनले कृत्रिम बौद्धिकता, इन्टरनेट तथा सामाजिक सञ्जालको प्रयोगबाट फैलिन सक्ने भ्रामक समाचार र त्यसले आसन्न निर्वाचनमा पार्न सक्ने असरप्रति गृह मन्त्रालय र सुरक्षा निकायहरूलाई विशेष रूपमा सतर्क रहन आग्रह गरे ।