- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौँ, माघ १९ - प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन असन्तुष्ट भएर आफ्नो क्याबिनेटबाट बाहिरिएको खुलासा गरेकी छन्।
सोमबार राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले पुनले केही कानुन निर्माणको प्रस्ताव राखेको तर सीमित समय र परिस्थितिका कारण त्यसमा सहयोग गर्न नसक्दा उनी रिसाएर पद छाड्न बाध्य भएको बताइन्।
प्रधानमन्त्रीका अनुसार पुनले अघि सारेका कानुन उपयोगी र सकारात्मक भए पनि तत्काल कार्यान्वयन सम्भव नभएको अवस्था थियो। “महावीर पुनजी केही कानुन बनाउन आग्रह गर्नुभएको थियो। ती कानुन राम्रै थिए, तर छोटो समयमा बनाइदिन सक्ने अवस्था रहेन,” प्रधानमन्त्री कार्कीले भनिन्, “सबै कुरा सधैं सम्भव हुँदैन, विभिन्न परिस्थिति हुन्छन्।”
प्रधानमन्त्री कार्कीले यस्ता विषयलाई व्यक्तिको अधिकारका रूपमा बुझ्नुपर्नेमा पनि जोड दिइन्। उल्लेखनीय छ, महावीर पुनले शिक्षामन्त्री पदबाट राजीनामा दिएपछि म्याग्दीबाट स्वतन्त्र उम्मेदवारका रूपमा उम्मेदवारी दिएका छन्।