Thursday, April 16, 2026

लेखा समितिमा कांग्रेसको दाबीः सभापतिका लागि उम्मेदवारी दिने निर्णय


३ वैशाख, काठमाडौं - नेपाली कांग्रेसले प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापति पदमा उम्मेदवारी दिने निर्णय गरेको छ।

कांग्रेसका सांसद भिष्मराज आङदाम्बेका अनुसार लेखा समितिमा पार्टीको स्पष्ट दाबी रहनेछ भने अन्य समितिहरूका हकमा विपक्षी दलहरूसँग छलफल जारी रहेको छ।

यसैबीच, संसदीय समितिका सभापतिमा उम्मेदवारी दिने वा साझा रणनीति बनाउने विषयमा विपक्षी दलहरूबीच आज सिंहदरबारमा संयुक्त बैठक बस्दैछ। बैठकले कुन समितिमा कसलाई उम्मेदवार बनाउने भन्ने टुंगो लगाउने अपेक्षा गरिएको छ।

कांग्रेसका तर्फबाट मोहन आचार्य र भिष्मराज आङदाम्बेले अन्य विपक्षी दलहरूसँग संवाद अघि बढाइरहेका छन् भने नेकपाका वर्षमान पुन र युवराज दुलाल पनि समन्वयमा जुटेका छन्।

संघीय संसद् सचिवालयका अनुसार आज दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता हुनेछ र सोही दिन साँझ उम्मेदवारहरूको अन्तिम सूची सार्वजनिक गरिनेछ।

संघीय संसद् अन्तर्गत कुल १६ वटा समितिहरू रहेकामा प्रतिनिधिसभाका १० र दुई संयुक्त समितिको सभापति चयन हुन बाँकी छ। यसअघि नै राष्ट्रिय सभातर्फका समितिका सभापतिहरू चयन भइसकेका छन्।

आगामी शुक्रबार हुने निर्वाचनमार्फत यी समितिका सभापति चयन गरिनेछन्, जसलाई संसदीय शक्ति सन्तुलनका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like