- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट पार्टीको अन्तरिम केन्द्रीय कार्यसमिति चयन गरिने भएको छ । महाधिवेशनको बन्दसत्रले पारित गरेको कार्यविधिमा नयाँ नेतृत्व चयनदेखि विधान संशोधनसम्म गर्न सकिने व्यवस्था गरिएको छ ।
कार्यविधिअनुसार कांग्रेसको चौधौँ महाधिवेशनपछि गठन भएका केन्द्रीय निर्वाचन समिति, केन्द्रीय अनुशासन समिति र केन्द्रीय लेखा समिति समेत विघटन गरिनेछ । त्यसपछि विशेष केन्द्रीय महाधिवेशनमार्फत विधानको धारा ३५ बमोजिम संयोजकसहित पाँच सदस्यीय नयाँ केन्द्रीय निर्वाचन समिति गठन गरिने व्यवस्था छ ।
उक्त निर्वाचन समितिले पुस २७ र २८ गते सम्पन्न महाधिवेशनलाई वैधानिक रहेको भन्दै अनुमोदन गर्न सक्ने उल्लेख कार्यविधिमा गरिएको छ । साथै, निर्वाचनसम्बन्धी व्यवस्थाअनुसार विधानको धारा १७ को उपधारा १ बमोजिम नियमित महाधिवेशन सम्पन्न नहुँदासम्म विधानको धारा १६(१) अनुसार केन्द्रीय महाधिवेशनका काम, कर्तव्य र अधिकारभित्र रही महाधिवेशन प्रतिनिधिहरूले विधानको धारा २१ अनुसार केन्द्रीय कार्यसमितिको निर्वाचन गर्ने व्यवस्था गरिएको छ ।
यस व्यवस्थाअनुसार बन्दसत्रको निर्णयका आधारमा महामन्त्री गगन थापाको नेतृत्वमा सभापतिसहितको केन्द्रीय कार्यसमिति आगामी वैशाखमा हुने नियमित महाधिवेशनसम्मका लागि चयन हुने देखिएको छ । कांग्रेसको नियमित महाधिवेशन आगामी वैशाखको अन्तिम साताका लागि तय गरिएको छ ।