- by समाचार कक्ष
- Mar 06, 2025
३० पुस, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित केही नेताहरूमाथि कारबाही गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
महामन्त्रीद्वय थापा र शर्माको अगुवाइमा इतर समूहले भृकुटीमण्डपमा विशेष महाधिवेशन जारी राखेपछि संस्थापन पक्षले यसलाई पार्टी विधानविपरीत ठहर गर्दै कारबाहीको प्रक्रिया अघि बढाएको हो । यस विषयमा पटक–पटक भएको वार्ता असफल भएपछि अन्तिम विकल्पका रूपमा कारबाहीको निर्णय गरिएको देउवा पक्षले जनाएको छ ।
कारबाहीको निर्णय सुनाउने क्रममा कार्यसमिति बैठक भावनात्मक बनेको थियो । बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार, निर्णय सार्वजनिक हुँदा कार्यवाहक सभापति पूर्णबहादुर खड्का भावविह्वल देखिएका थिए ।
‘यतिधेरै प्रयास गर्दा पनि साथीहरू नमानेपछि यो पूर्वनिर्धारित योजनाजस्तो देखियो, पार्टी बचाउन सकिनँ,’ खड्काले बैठकमा भनेका थिए । उनले सबै यत्न गर्दा पनि सहमति कायम गर्न नसकेको भन्दै आफ्नो असहायता व्यक्त गरेको ती सदस्यले बताए ।
पार्टीभित्रको विवाद गहिरिँदै जाँदा कांग्रेसको आन्तरिक राजनीति थप पेचिलो बन्दै गएको छ ।