Thursday, April 16, 2026

कांग्रेस बैठकमा थापाको राजीनामामाथि निर्णायक बहस: अस्वीकृत गर्ने तयारी


काठमाडौं - नेपाली कांग्रेसको शुक्रबार बस्ने केन्द्रीय कार्यसमिति बैठकमा सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव प्रस्तुत गरिने तयारी भएको छ।

थापाले २१ फागुनमा भएको निर्वाचनमा व्यहोरेको पराजयको नैतिक जिम्मेवारी लिँदै बुधबार उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका थिए। यद्यपि, उक्त प्रस्तावलाई अस्वीकृत गर्ने तयारी पार्टीभित्र देखिएको छ।

एक नेताका अनुसार, थापा शुक्रबारको बैठकमा सहभागी नहुने छन्, जसका कारण बैठकको अध्यक्षता उपसभापति शर्माले गर्नेछन्। बैठकमा शर्माले थापाको राजीनामाबारे औपचारिक जानकारी गराउनुका साथै त्यसलाई अस्वीकृत गर्ने प्रस्ताव अघि सार्ने तयारी गरेका छन्।

पार्टीका पदाधिकारीहरूका अनुसार, निर्वाचनमा पराजयको जिम्मेवारी कुनै एक व्यक्तिमा सीमित नभई छोटो तयारी अवधिमा चुनावमा सहभागी हुनुपरेको समग्र परिस्थितिलाई प्रमुख कारणका रूपमा प्रस्तुत गरिनेछ।

गत पुसको अन्तिम साता सम्पन्न विशेष महाधिवेशनबाट थापा सभापतिमा निर्वाचित भएका थिए। तर, २१ फागुनको निर्वाचनमा सर्लाही–४ बाट प्रतिस्पर्धा गर्दा उनी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरेस कुमार सिंहसँग पराजित भएका थिए। विशेष महाधिवेशनबाट निर्वाचित अधिकांश पदाधिकारीहरू पनि चुनावमा हार व्यहोरेपछि नेतृत्वमाथि नैतिक प्रश्न उठ्दै आएको थियो।

यसबीच, कांग्रेसले देशभरका निर्वाचन क्षेत्रहरूबाट विजय र पराजयका कारणसहित प्रतिवेदन संकलन गरिसकेको छ, जसको समग्र निष्कर्ष पनि बैठकमा प्रस्तुत गरिनेछ।

थापाले चुनावपछि नै राजीनामा दिन खोजेका भए पनि वरिष्ठ नेताहरूले रोक्दै आएका थिए। विभिन्न जिल्लाका नेताहरूले समेत सार्वजनिक रूपमा राजीनामा नदिन आग्रह गरेका थिए। अन्ततः शीर्ष नेताहरूको पछिल्लो छलफलपछि थापाले औपचारिक रूपमा राजीनामा बुझाएका हुन्।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like