- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं । काठमाडौं महानगरपालिकाले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकका लागि घरमै पुगेर आधारभूत स्वास्थ्य सेवा तथा परीक्षण प्रदान गर्ने कार्यक्रम आजबाट सुरु गरेको छ।
कार्यवाहक मेयर सुनिता डंगोलले ज्येष्ठ नागरिकका लागि स्वास्थ्य सेवा अब अस्पतालमा मात्र सीमित नरहने स्पष्ट पारेकी छन्। उनका अनुसार महानगरपालिकाले घरदैलोमै स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक परे जटिल अवस्थाका बिरामीलाई अस्पतालसम्म पुर्याउने व्यवस्थासमेत गर्नेछ।
जारी वक्तव्यमा डंगोलले भनिन्, “अब स्वास्थ्य सेवा अस्पतालमै सीमित रहने छैन। ७० वर्षभन्दा माथिका अभिभावकहरूका लागि घरमै आधारभूत स्वास्थ्य सेवा आजबाट सुरु गरिएको छ। स्वास्थ्य सर्वेक्षणदेखि स्वास्थ्य प्रवर्द्धन, नियमित परीक्षण, आवश्यक औषधि, परामर्श र जटिल अवस्थामा अस्पतालसम्मको सहजीकरण-सबै सेवा घरदैलोमै उपलब्ध हुनेछ।”
‘असक्त हुँदा महानगरपालिकाको सेवा, ज्येष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सेवा’ भन्ने नारासहित यो अभियान सुरु गरिएको बताउँदै उनले यसले ज्येष्ठ नागरिकको स्वास्थ्य पहुँच सहज बनाउने विश्वास व्यक्त गरिन्।