- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौँ - भ्रष्टाचार नियन्त्रण र सुशासनको माग राख्दै भदौ २३ र २४ गते भएको 'जेनजी आन्दोलन'मा राज्यपक्षबाट भएको दमनका क्रममा घाइते भएका २८ प्रदर्शनकारीका बयान गौरी बहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनमा समेटिएका छन्।
प्रतिवेदनअनुसार, आन्दोलनको क्रममा सुरक्षाकर्मीले बिना चेतावनी निहत्था नागरिकमाथि “ताकी–ताकी” गोली चलाएको दाबी गरिएको छ। अधिकांश घाइतेहरूले घुँडाभन्दा माथि, छाती, पेट, टाउको र आँखामा गोली लागेको बताए।
१७ वर्षीया एकता शाहले बानेश्वरमा प्रदर्शन हेरिरहेको बेला दायाँ घुँडामा रबर बुलेट लागेको बताए भने, कुमार उपाध्यायले आफ्नो घरको छतमा उभिएर हेर्दा गोली पाखुरा हुँदै फोक्सो र ढाडसम्म पुगेको बयान दिएका छन्। राम चर्माकारले कलंकीमा १५–२० मिटरको दुरीबाट गोली आँखामा लागेको उल्लेख गरेका छन्।
प्रतिवेदनमा गीता कुमारी शाहको पनि बयान समेटिएको छ, जसमा भदौ २४ गते कोटेश्वरमा उग्र प्रदर्शनकारीको आक्रमणबाट उनी ४० प्रतिशत जलिएका र अझै गम्भीर अवस्थामा रहेको उल्लेख छ।
आयुष वि.क., लोकराज उपाध्याय, सुरेन्द्रजंग थापा, स्मृति राईलगायत २८ जना घाइतेले एकमत रूपमा भनेका छन्– “२३ गते हाम्रो आन्दोलन स्वतःस्फूर्त र शान्तिपूर्ण थियो। तर २४ गते बाहिरबाट घुसपैठियाहरू प्रवेश गरी तोडफोड मच्चाए र राज्यले त्यसको बहानामा निर्दोष युवाहरूमाथि गोली चलायो।”
जाँचबुझ आयोगको प्रतिवेदनअनुसार, दुइ दिने आन्दोलनमा कुल २ हजार ५२२ जना घाइते भएका थिए। झडपमा १ हजार ३२८ जना प्रदर्शनकारी र २ हजार ६८ जना सुरक्षाकर्मी घाइते भएका थिए। प्रतिवेदनले भिड नियन्त्रणको नाममा सुरक्षाकर्मीले बन्दुक र रबर बुलेटको अन्धाधुन्ध प्रयोग गर्दा ठूलो मानवीय क्षति भएको औंल्याएको छ।