Thursday, January 15, 2026

जेनजी आन्दोलनका शहीद परिवारलाई प्राधिकरणमा रोजगारी, २७ जनालाई नियुक्ति दिने निर्णय


 काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले सरकारको निर्णयअनुसार गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका शहीद परिवारका सदस्यलाई रोजगारी दिने निर्णय गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासका निवर्तमान मन्त्री तथा प्राधिकरण सञ्चालक समिति (बोर्ड) का अध्यक्ष कुलमान घिसिङको अध्यक्षतामा मंगलबार बसेको बोर्ड बैठकले शहीद परिवारका २७ जनालाई रोजगारी दिने निर्णय गरेको हो ।

जेनजी आन्दोलनका शहीद परिवारका २७ जनाले रोजगारीका लागि निवेदन दिएका थिए । निवेदकहरूको यकिन गरी उनीहरूको शैक्षिक योग्यताका आधारमा पायक पर्ने प्राधिकरणका कार्यालयमा बढीमा तीन तहसम्मको पदमा करार नियुक्ति गर्ने निर्णय गरिएको छ ।

सरकार र जेनजी आन्दोलनका प्रतिनिधिबीच भएको सम्झौता तथा मन्त्रिपरिषद्बाट स्वीकृत सहायता सम्बन्धी कार्यविधिअनुसार शहीद परिवारका सदस्यका निवेदनका आधारमा रोजगारी दिने निर्णय गरिएको प्राधिकरण बोर्ड अध्यक्ष घिसिङले जानकारी दिए ।

उक्त कार्यविधिमा जेनजी प्रदर्शनका क्रममा घाइते वा अपाङ्ग भएका व्यक्ति, नजिकका परिवारका सदस्य तथा शहीद परिवारका सदस्यलाई प्रचलित कानुनअनुसार निःशुल्क शिक्षा र रोजगारीको व्यवस्था गर्ने प्रावधान छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत शिक्षा र श्रम, रोजगार तथा सामाजिक सुरक्षा, ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकास, खानेपानी, भौतिक पूर्वाधार तथा यातायात, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, युवा तथा खेलकुद तथा उद्योग, वाणिज्य तथा आपूर्तिलगायतका मन्त्रालयमार्फत रोजगारीसम्बन्धी व्यवस्था मिलाइने उल्लेख छ ।

जेनजी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई सरकारले शहीद घोषणा गरिसकेको छ ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like