Tuesday, April 21, 2026

इन्धन महँगो भएको आलोचनामा निगमको जवाफ: ‘कच्चा तेल होइन, प्रशोधित मूल्यसँग तुलना गर्नुस्’


नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यलाई लिएर भइरहेका टिप्पणीहरू भ्रामक रहेको स्पष्ट पारेको छ। निगमले कच्चा तेल (क्रुड आयल) को मूल्यसँग तुलना गरेर नेपालमा इन्धन महँगो भएको भनेर गरिएको विश्लेषण गलत भएको जनाएको हो।

निगमका अनुसार नेपालमा आफ्नै रिफाइनरी नभएकाले कच्चा तेल नभई प्रशोधित पेट्रोलियम पदार्थ आयात गर्नुपर्ने बाध्यता छ। त्यसैले मूल्य तुलना गर्दा कच्चा तेल होइन, प्रशोधित इन्धनको अन्तर्राष्ट्रिय मूल्यलाई आधार मान्नुपर्ने निगमको भनाइ छ।

निगमका प्रवक्ता मनोज ठाकुर ले क्रुड आयलभन्दा प्रशोधित पेट्रोल र डिजेल स्वाभाविक रूपमा महँगो हुने भएकाले गलत तुलना नगर्न आग्रह गरेका छन्। उनका अनुसार नेपालले इन्डियन आयल कर्पोरेसन (IOC) बाट इन्धन आयात गर्दै आएको छ र त्यसैको खरिद मूल्यका आधारमा प्रत्येक १५–१५ दिनमा मूल्य समायोजन हुने गरेको छ।

निगमले उपलब्ध गराएको तथ्याङ्कअनुसार पछिल्ला दिनहरूमा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य उच्च स्तरमा पुगेको छ, जसले आयात लागत बढाएको छ। सामान्य अवस्थामा कच्चा तेल र पेट्रोलबीच करिब १० डलर तथा डिजेलबीच करिब २० डलरको अन्तर रहने भए पनि हाल त्यो अन्तर निकै बढेको बताइएको छ।

भन्सार, कर, ढुवानी, बीमा, भण्डारण तथा अन्य शुल्कहरूले पनि अन्तिम खुद्रा मूल्यमा प्रभाव पार्ने निगमको भनाइ छ।

यसैबीच, वैशाख ३ गतेदेखि डिजेल/मट्टितेल र हवाई इन्धनको मूल्य बढाइएको थियो। मूल्य समायोजनपछि पनि डिजेलमा प्रतिलिटर ठूलो मात्रामा घाटा भइरहेको निगमले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य उतारचढावका कारण निगमले ठूलो आर्थिक घाटा व्यहोर्नु परिरहेको पनि उल्लेख गरिएको छ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like