- by समाचार कक्ष
- Mar 06, 2025
२८ फागुन, पोखरा। नेकपा एमाले कास्कीका इन्चार्ज तथा पूर्व पोखरा मेयर कृष्ण थापाको हृदयघातका कारण निधन भएको छ।
बुधबार पोखरामा आयोजित एमाले कास्कीको चुनावी समीक्षा बैठकमा सहभागी भइरहेका क्रममा उनी अचानक अस्वस्थ भई ढलेका थिए। त्यसपछि उनलाई उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पुर्याइएको थियो। अस्पतालमा भर्ना गरिए पनि उपचारकै क्रममा उनको निधन भएको एमाले कास्कीका अध्यक्ष वैनबहादुर क्षेत्री अधिकारीले पुष्टि गरेका छन्। अस्पताल स्रोतले पनि थापाको निधन भएको जानकारी दिएको छ।
कृष्ण थापा २०५४ सालमा पोखरा नगरपालिकाको मेयर पदमा निर्वाचित भएका थिए। त्यसपछि २०७४ सालमा उनी गण्डकी प्रदेश सभा सदस्य बनेका थिए भने २०७९ सालको स्थानीय तह निर्वाचनमा पोखरा महानगरपालिकाको मेयर पदमा उम्मेदवार बनेर पराजित भएका थिए।
हालै सम्पन्न निर्वाचनका लागि पनि उनले टिकट प्राप्त गरेका थिए। तर, पछि पार्टीले उक्त टिकट रश्मी आचार्यलाई दिएको थियो।
एमाले कास्की जिल्ला कमिटीका पूर्वअध्यक्ष समेत रहेका थापा जनआन्दोलनपछिको पार्टी महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए। उनको निधनले एमाले कास्कीमा शोकको वातावरण छाएको छ।