काठमाडौं । बंगलादेशको विद्यार्थी आन्दोलनबाट स्थापित पार्टी नेशनल सिटिजन पार्टी का संयोजक नाहिद इस्लाम ले हालै सम्पन्न निर्वाचनबारे गम्भीर आरोप लगाएका छन्। उनले दुई तिहाइ बहुमत हासिल गरेको बंगलादेश राष्ट्रवादी पार्टी, आन्दोलनपछि सत्ताबाट बाहिरिएको आवामी लिग र भारत बीच मिलेमतो भएको दाबी गरेका हुन्।
अपेक्षित नतिजा हासिल गर्न नसकेको नयाँ दलका नेता इस्लामले आवामी लिगका पार्टी कार्यालयहरू पुनः खुल्न थालेको विषयलाई लिएर नयाँ प्रधानमन्त्री तारिक रहमान र भारतबीच सहमति भएको आरोप लगाए।
बिहीबार साँझ आयोजित पत्रकार सम्मेलनमा बोल्दै इस्लामले हालैको निर्वाचनमा भारत, आवामी लिग र बंगलादेश राष्ट्रवादी पार्टीबीच कुनै न कुनै प्रकारको समझदारी रहेको दाबी गरे। उनले आवामी लिगलाई पुनः राजनीतिक रूपमा स्थापित गर्न खोजिएको भन्दै आपत्ति जनाए।
गत निर्वाचनमा आवामी लिगलाई प्रतिस्पर्धामा सहभागी हुन प्रतिबन्ध लगाइएको थियो। तर अहिले सो पार्टीका कार्यालयहरू खुल्न थालेपछि इस्लामले प्रशासनसँग स्पष्ट जवाफ मागेका छन्। प्रतिबन्ध कायम नराखिए आन्दोलनमा उत्रने चेतावनी समेत उनले दिएका छन्।
उनका अनुसार सरकारको अनुमति बिना आवामी लिगले कार्यालय सञ्चालन गर्न नसक्ने भएकाले यसमा सरकारी सहमति रहेको आशंका गरिएको छ।