Friday, April 17, 2026

भूमिकाविहीनताको गुनासोसँगै युवराज लामाको नेकपाबाट राजीनामा, स्वतन्त्र बस्ने घोषणा


काठमाडौं । नेपाल चलचित्र विकास बोर्डका पूर्वसदस्य तथा राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्य सचिव युवराज लामाले नेपाली कम्युनिस्ट पार्टीबाट औपचारिक रूपमा अलग हुने घोषणा गरेका छन्।

करिब १८ वर्षदेखि माओवादी आन्दोलनमा सक्रिय रहेका लामाले पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सम्बोधन गर्दै अब आफू कुनै पनि राजनीतिक दलसँग आबद्ध नरही स्वतन्त्र नागरिकका रूपमा रहने बताएका छन्।

पार्टीभित्र लामो समयसम्म आफूलाई जिम्मेवारीविहीन बनाइएको र गुटगत राजनीतिका कारण अवसरबाट वञ्चित हुनुपरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन्। लामाले यसअघि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को युवा तथा खेलकुद विभागमा सदस्यका रूपमा काम गरेका थिए।

आफ्नो राजीनामा पत्रमा उनले प्रचण्ड नेतृत्वमा भएको जनयुद्ध तथा माओवादी आन्दोलनले गणतन्त्र स्थापना, धर्मनिरपेक्षता र उत्पीडित वर्गको अधिकारका क्षेत्रमा ऐतिहासिक उपलब्धि हासिल गरेको उल्लेख गर्दै त्यसको प्रशंसा गरेका छन्। साथै, विगतमा आफूलाई प्रदान गरिएका जिम्मेवारीप्रति आभार व्यक्त गरेका छन्।

तत्कालीन सञ्चारमन्त्री कृष्णबहादुर महरा र खेलकुदमन्त्री हितबहादुर तामाङको कार्यकालमा प्राप्त अवसरहरूले राष्ट्रसेवामा योगदान पुर्‍याउन सकेको उनले बताएका छन्।

लामाले पार्टीभित्र ‘किचन क्याबिनेट’, गुटबन्दी र नेताहरूको वरिपरि केन्द्रित राजनीति हाबी भएको आरोप लगाएका छन्। आफू कुनै गुटमा नलागेको र नेताहरूको चाकरी नगरेका कारण पछाडि पारिएको उनको भनाइ छ।

उनले पार्टीका विभिन्न महाधिवेशनहरूमा कनिष्ठ नेताहरूलाई प्राथमिकता दिइएको र बाहिरबाट आएका व्यक्तिहरूलाई सिधै उच्च पदमा समेटिएकोप्रति पनि असन्तुष्टि जनाएका छन्। पछिल्लो संगठनात्मक संरचनामा समेत आफूलाई स्थान नदिइएको भन्दै उनले अन्ततः पार्टी छोड्ने निर्णय लिएको स्पष्ट पारेका छन्।

लामाले लामो राजनीतिक यात्राप्रति गर्व व्यक्त गर्दै अब स्वतन्त्र मतदाताको रूपमा मात्रै आफ्नो भूमिका रहने बताएका छन्।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like