Thursday, July 17, 2025

भूमि मन्त्री बलराम अधिकारीमाथि ३२ लाख घुस प्रकरणको अडिओ सार्वजनिक, मन्त्रीले आरोप अस्वीकार गर्दै भने – ‘चरित्र हत्या हो’


काठमाडौं – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीमाथि ३२ लाख रुपैयाँ घुस लिएको आरोपसहितको अडिओ सार्वजनिक भएको छ। पोखराको बाटुलेचौरस्थित १३४ रोपनी जग्गा दर्तासम्बन्धी सेटिङका क्रममा मन्त्री अधिकारीले घुस लिएको दाबी गर्दै सार्वजनिक भएको अडिओमा उनको छोरा मनोज अधिकारी र तत्कालीन सचिव अर्जुन पोखरेलको नाम पनि जोडिएको छ।

यो अडिओ सार्वजनिक हुनु अगाडि पनि मन्त्री अधिकारीको नाम एक अर्काे विवादास्पद अडिओमा आएको थियो, जसमा भूमि आयोग कास्कीको अध्यक्ष पदको लागि २५ लाख र मालपोत कार्यालय कास्कीको तत्कालीन प्रमुखको सरूवा रोक्न ५३ लाख घुस लेनदेनको 'डिल' भएको सुनिन्छ। सो अडिओ सार्वजनिक भएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका थिए। उक्त अडिओमा पनि बलराम अधिकारीले पैसा ‘खाइसकेको’ भन्ने अंश रहेको थियो।

तर, पछिल्लो अडिओबारे मन्त्री अधिकारीले आज मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै आफूलाई षड्यन्त्रपूर्वक फसाउन खोजिएको दाबी गरेका छन्। उनले उक्त अडिओमा आफ्नाे स्वर नरहेको, आफू, मन्त्रालय वा छोराको संलग्नता नभएको स्पष्ट पारे।

“मन्त्रीको रूपमा मैले कुन ठाउँमा मालपोत अधिकृत सरूवा गर्न दिइन भनेर जवाफ दिएको हुँ,” उनले भने, “त्यही निहुँमा मेरो चरित्र हत्या गर्न खोजिएको छ। अडिओको सत्यता पहिचान गर्नुपर्छ।”

अब यो प्रकरणले थप राजनीतिक र कानुनी असर निम्त्याउने देखिन्छ, भने सार्वजनिक गरिएका अडिओहरूको प्रमाणिकता पुष्टि गर्न दबाब बढ्दो छ। अधिकारीमाथिको छानबिन माग गर्दै नागरिक समाज तथा प्रतिपक्षी दलहरूले प्रतिक्रिया जनाउन थालेका छन्।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like