- by समाचार कक्ष
- Mar 06, 2025
१५ माघ, भक्तपुर - भक्तपुरको कमलविनायक बसपार्क नजिक तीन सवारीसाधन आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
कमलविनायकबाट च्यामासिंहतर्फ जाँदै गरेको बा ५५ प १७४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकमा लडेपछि सोही दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२–०२० प ११६८ नम्बरको स्कुटरसँग ठोक्किएको थियो। त्यसलगत्तै पछाडिबाट आइरहेको प्रदेश ३-०१-००३ क ६२९१ नम्बरको टिपरले स्कुटरलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रमुख तथा प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिए।
दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालक भक्तपुर नगरपालिका–८ निवासी २६ वर्षीय बिमल वनमालाको भक्तपुर अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ।
त्यस्तै, मोटरसाइकल चालक भक्तपुर नगरपालिका-७ इनाचोकका २४ वर्षीय राजेश वनमाला घाइते भएका छन्। उनको ललितपुरस्थित बीएन्डबी अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनापछि फरार रहेका टिपर चालक सिन्धुपाल्चोकका २५ वर्षीय राजकुमार माझीलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ। दुर्घटनामा संलग्न तीनवटै सवारीसाधन हाल प्रहरी वृत्त जगातीमा राखिएको जनाइएको छ।