काठमाडौं । सांसद बदनकुमार भण्डारीले मापदण्डविपरीत सञ्चालन भइरहेका खानी तथा क्रसर उद्योगहरूलाई तत्काल बन्द गर्न सरकारसँग माग गरेका छन्।
मंगलबार संसदअन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले खानी तथा क्रसर क्षेत्रका बेथितिहरू नियन्त्रण बाहिर गएको भन्दै गम्भीर आपत्ति जनाए।
उनका अनुसार खानी तथा खनिज ऐन २०४२ र सम्बन्धित निर्देशिका २०५७ को पालना नगरी धेरै उद्योगहरूले आफ्नो अनुमति क्षेत्रभन्दा बाहिर गई सार्वजनिक जमिन समेत दोहन गरिरहेका छन्।
भण्डारीले नवीकरण नभएका उद्योगहरू कुन कानुनी आधारमा सञ्चालन भइरहेका छन् भन्ने प्रश्न उठाउँदै यस्ता अवैध गतिविधि तुरुन्त रोक्न सरकारलाई आग्रह गरे।
उनले क्रसर उद्योगकै लापरबाहीका कारण पछिल्लो वर्ष ७० भन्दा बढी मानिसको ज्यान गएको तथा प्राकृतिक विपद् बढेको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराए।
सांसद भण्डारीले नदी प्रदूषण र गाउँबस्तीहरू जोखिममा परेको बताउँदै सम्बन्धित मन्त्रालयलाई नवीकरण नभएका उद्योगहरूको विवरण सार्वजनिक गर्न र मापदण्ड नपुगेकालाई कडा कारबाही गर्न निर्देशन दिनुपर्नेमा जोड दिए।
उनका अनुसार अवैध रूपमा सञ्चालन भइरहेका उद्योगहरूले नागरिकको जीवन जोखिममा पार्नुका साथै राज्यलाई समेत ठूलो नोक्सान पुर्याइरहेका छन्, जसलाई अब तत्काल रोक्नुपर्ने आवश्यकता छ।