Thursday, April 16, 2026

अवैध अनलाइन सट्टेबाजीमा कडा प्रहार: ७ हजारभन्दा बढी एप र वेबसाइट एकैपटक बन्द”


काठमाडौं, २२ चैत - सरकारले शासकीय सुधारअन्तर्गत अवैध अनलाइन सट्टेबाजीमाथि कडाइ गर्दै सात हजारभन्दा बढी एप र वेबसाइट बन्द गरेको छ।

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूसँग समन्वय गरी गैरकानुनी रूपमा सञ्चालनमा रहेका सट्टेबाजी प्लेटफर्महरू पहिचान गरेर तत्काल बन्द गर्ने प्रक्रिया अघि बढाएको हो।

प्राधिकरणका उपनिर्देशक सूर्यप्रसाद लामिछानेका अनुसार हालसम्म ७ हजारभन्दा बढी युआरएल र एपहरू निष्क्रिय बनाइएका छन्। पछिल्लो एक सातामा मात्र यस विषयमा ५० भन्दा बढी गुनासा प्राप्त भएपछि ती सबैलाई प्राथमिकताका साथ सम्बोधन गर्दै कारबाही गरिएको उनले जानकारी दिए।

मन्त्रिपरिषद्को चैत १३ गतेको निर्णयअनुसार शासकीय सुधारसम्बन्धी कार्यसूचीमा समावेश बुँदा ४२ ले सट्टेबाजीसम्बन्धी एप तथा वेबसाइट २४ घण्टाभित्र बन्द गर्नुपर्ने व्यवस्था गरेको छ। सोही निर्देशनअनुसार प्राधिकरणले ती सबै प्लेटफर्महरू तुरुन्तै निष्क्रिय बनाएको हो।

कानुनी रूपमा, मुलुकी अपराध संहिता, २०७४ अनुसार सट्टेबाजी गर्नु वा गराउनु दुवै निषेधित छ। यस नियम उल्लङ्घन गर्ने व्यक्तिलाई प्रयोग भएको रकम जफत गरिनुका साथै एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने प्रावधान छ।

यसैगरी, विज्ञापनसम्बन्धी कानुनले पनि जुवा वा अवैध सट्टेबाजीलाई प्रोत्साहन गर्ने कुनै पनि प्रचारप्रसारलाई प्रतिबन्ध लगाएको छ, उल्लङ्घन गरेमा समान सजायको व्यवस्था छ।

सरकारले पुनः सर्वसाधारणलाई यस्ता अवैध एप तथा वेबसाइट प्रयोग नगर्न आग्रह गर्दै, शंकास्पद गतिविधि देखिएमा सम्बन्धित निकायलाई जानकारी गराउन अपिल गरेको छ। साथै, नियम उल्लङ्घन गर्नेहरूलाई कडा कारबाही गरिने चेतावनी समेत दिइएको छ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like