Monday, June 1, 2026

अमेरिका पठाउने नाममा डेढ करोड ठगी : युवतीलाई बन्धक बनाएको आरोपमा वडाध्यक्ष पक्राउ


अमेरिका लैजाने प्रलोभन देखाएर एक युवतीलाई विभिन्न देशमा घुमाइ बन्धक बनाउने, यौन शोषण गर्ने तथा डेढ करोड रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा स्याङ्जाका एक वडाध्यक्ष पक्राउ परेका छन् ।

मानव बेचबिखन अनुसन्धान ब्यूरोले पुतलीबजार नगरपालिका–४ का वडाध्यक्ष ४४ वर्षीय शिवबहादुर थापालाई पोखराबाट पक्राउ गरेको जनाएको छ ।

प्रहरीका अनुसार थापाले सामाजिक सञ्जाल ह्वाट्सएपमार्फत पीडित युवतीसँग सम्पर्क बढाई ६० लाख रुपैयाँमा अमेरिका पठाइदिने आश्वासन दिएका थिए । त्यसपछि २०७८ वैशाख ११ गते युवतीलाई काठमाडौँबाट दुबई लगिएको थियो ।

दुबईमा एक महिनासम्म होटलमा राखेर भिसा प्रक्रियाको बहानामा एजेन्टमार्फत युवतीको पासपोर्ट, फोटो र ८ लाख रुपैयाँ बराबरको विदेशी मुद्रा संकलन गरिएको प्रहरीको भनाइ छ । त्यसपछि युवतीलाई बहराइन, टर्की, ब्राजिल, पेरु हुँदै कोलम्बिया पुर्‍याइएको थियो ।

अनुसन्धानका क्रममा कोलम्बियामा युवतीलाई करिब एक वर्षसम्म बन्धक बनाएर राखिएको, शारीरिक तथा मानसिक यातना दिइएको र जबरजस्ती करणी समेत गरिएको खुलेको ब्यूरोले जनाएको छ ।

नेपाल फर्किन अनुरोध गर्दा समेत थप रकम मागिएको र ज्यान जोगाउन पीडितले अमेरिकामा रहेका साथीमार्फत विभिन्न बैंक खाता तथा वेस्टर्न युनियनमार्फत पटक–पटक गरी ९८ हजार ९०० अमेरिकी डलर पठाएको खुलेको छ ।

रकम लिएपछि एजेन्टमार्फत युवतीलाई कोलम्बियाबाट पानामाको जंगल हुँदै मेक्सिको सीमासम्म पुर्‍याइएको थियो । त्यहाँ पुगेपछि पुनः २० हजार डलर माग गरिएको र रकम उपलब्ध गराउन नसक्दा युवतीलाई मेक्सिकोमै अलपत्र छाडिएको प्रहरीले जनाएको छ ।

पछि अमेरिकामा रहेका आफन्त र अमेरिकास्थित नेपाली राजदूतावासको सहयोगमा ट्राभल डकुमेन्ट बनाएर पीडित २०८३ वैशाख २ गते नेपाल फर्किएकी थिइन् । नेपाल फर्किएपछि दिएको उजुरीका आधारमा प्रहरीले वैशाख २८ गते पोखराबाट थापालाई पक्राउ गरेको हो ।

प्रहरीले काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी थापामाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like